काठमाडौं । काठमाडौँ उपत्यकामा पुनः फोहोर थुप्रिएको छ । दुई हप्तादेखि फोहोर उठ्न रोकिएपछि सिङ्गै उपत्यका कुरूप देखिनुका साथै महानगर दुर्गन्धित बनेको छ ।

दुई हप्ताअघि सुरक्षाकर्मी तैनाथ गरेर बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न सुरु गरिए पनि स्थानीयवासीको अवरोधका कारण अहिले फोहोर व्यवस्थापन रोकिँदा काठमाडौँमा फोहोर थुप्रिन पुगेको छ ।

यसअघि फोहोर विसर्जन गरिँदै आएको सिसडोलको डम्पिङसाइटको व्यवस्थापन (पोस्ट क्लोजर) गर्नुपर्ने भन्दै बन्चरेडाँडामा पहिलो पटक फोहोर विसर्जन गर्न सुरु गरिएको थियो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौँको फोहोर व्यवस्थापनका लागि आफूले हरसम्भव प्रयास गरिरहेको बताउँदै यसका लागि काठमाडौँ महानगरपालिकालगायतका निकायसँग निरन्तर छलफल गरिरहेको जानकारी दिनुभयो ।

उहाँले बन्चरेडाँडामा फोहोरको वैज्ञानिक व्यवस्थापन, सिसडोलको ल्यान्डफिल्ड साइटको ‘पोस्ट क्लोजर’ कसरी गर्ने, सिसडोल र बन्चरेडाँडाका स्थानीयवासीको माग कसरी सम्बोधन गर्ने, पासाङ ल्हामु राजमार्गअन्तर्गतको तीनपिप्लेदेखि बन्चरेडाँडासम्मको बाटो कसरी निर्माण गर्नेलगायतका विषयमा मन्त्रालयले विभिन्न सम्बद्ध निकायसँग छलफल गर्नुका साथै गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहका स्वकीय सचिव भूवदेव साहले काठमाडौँ महानगरको फोहोर व्यवस्थापनसम्बन्धमै महानगर प्रमुखले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहालसँग भेटेर छलफल गर्नुभएको बताउनुभयो । त्यसैगरी फोहोर व्यवस्थापनका लागि कार्यदल गठन गरी काम अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो  ।

सोमबार बसेको महानगरको पहिलो कार्यपालिका बैठकले फोहोरमैला व्यवस्थापनका लागि महानगर प्रमुख साहको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु