काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नयाँ चेतावनीपछि युद्ध थप लम्बिने देखिएको छ ।

पुटिनले यदि पश्चिमी देशहरूले युक्रेनलाई लामो दुरीको क्षेप्यास्त्र उपलब्ध गराए आफ्नो सेनाले अझै छुटेका क्षेत्रमा कारबाही गर्ने बताएका हुन् ।

यसैबीच, रुस र युक्रेनले युद्धबारे विभिन्न दाबी गर्दै आएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र नदिन पश्चिमा राष्ट्रहरुलाई चेतावनी दिएका हुन् ।

राष्ट्रपति पुटिनले एक टिभी अन्तर्वार्तामा युक्रेनलाई त्यस्ता हतियार दिनुको उद्देश्य युद्धलाई सकेसम्म लामो बनाउनु रहेको बताए ।

अमेरिकाले भर्खरै युक्रेनलाई लामो दूरीका रकेटहरू उपलब्ध गराउन सहमत भएको बेला उनको यस्तो बयान आएको हो ।

युक्रेनी अधिकारीहरूले ती रकेटहरू गेम चेन्जर साबित हुन सक्ने दावा गरिरहेका छन् । तर रुसी राष्ट्रपति पुटिनले यी रकेटले जमिनमा कुनै परिवर्तन ल्याउन नसक्ने बताउनुभयो ।

पुटिनको यो भनाइ यस्तो बेला आएको हो जब रुसी सेनाले युक्रेनको पूर्वी भाग बाहेक राजधानी किभ लगायत धेरै शहरमा आक्रमण गरिसकेको छ ।

रुसले युक्रेनका दुई सहरमा मिसाइल प्रहार गरेको अधिकारीहरूले बताएका छन् । राजधानी किभमा उपस्थित एक अधिकारीले रेलमार्गलाई निशाना बनाएर आक्रमण गरिएको बताए ।

आक्रमणमा घाइते भएका एक जनालाई अस्पतालमा भर्ना गरिएको छ । रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कुनाशेन्कोभले युक्रेनमा क्षति पुगेको दाबी गरेका छन् ।

इगोर कुनाशेन्कोभले भने, ‘किभ बाहिरबाट रुसी सेनाले प्रहार गरेको लामो दूरीको क्षेप्यास्त्रले पूर्वी युरोपका देशहरूले पठाएको टी–७२ ट्याङ्क र अन्य सवारी साधनलाई नष्ट गर्यो ।’

यसैबीच युक्रेनको पूर्वी भागमा लडाँई जारी रहेको स्थानीय गभर्नर शेरी हाइडाईले बताउनुभयो ।

उहाँका अनुसार युक्रेनी सेनाले सेभेरोडोनेत्स्कको केही भाग पुनः आफ्नो नियन्त्रणमा लिएको छ । झण्डै आधा सहर आफ्नो सेनाको नियन्त्रणमा रहेको उहाँले उल्लेख गर्नुभयो । शेरी हाइडाईले भन्नुभयो, ‘हामी पक्कै पनि कठिन परिस्थितिमा छौं । यसबारे जानकारी मैले पहिले पनि दिएको थिएँ ।

रुसले सहरको ७० प्रतिशत भूभाग आफ्नो कब्जामा लिएको थियो तर पछिल्ला दुई दिनमा हामीले त्यसलाई पछाडि धकेलेर अहिले सहर आधामा बाँडिएको छ ।’ तर, उहाँको दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

सम्बन्धित खबरहरु