काठमाडौं । तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ठूलो क्षति भएको छ ।

भारत, मध्य प्रदेशमा करिब ३० तीर्थयात्री बोकेको बस आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा खाल्डोमा खसेको हो ।

सो दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । उनीहरुको शव पनि फेला परेको छ । ५ जना गम्भीर घाइते भएका छन् । सबै यात्रु चारधाम यात्रामा जाँदै थिए । घटनास्थलमा प्रहरी र उद्धार टोली खटिएको छ ।

एनडीआरएफको टोलीले उद्धार कार्य जारी राखेको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले प्रकोप नियन्त्रण कक्षबाट उद्धार कार्यको अनुगमन गरिरहेका छन् । युके ०४ १५४१ नम्बरको यो बस २८ सिटे थियो । बस हरिद्वारबाट चारधामतर्फ गइरहेको थियो ।

पुरालाका एसएचओ अशोक कुमारले भन्नुभयो, ‘२३ मृतकको शव निकालिएको छ । पाँच घाइतेलाई यसअघि नै अस्पताल लगिएको छ । गहिरो खाडल र अन्धकारका कारण शवलाई सडकसम्म पुर्‍याउन कठिन भएको छ । अहिलेसम्म २ जनाको मात्रै शव सडकमा ल्याइएको छ ।’

उत्तराखण्डका डीजीपी अशोक कुमारका अनुसार सबै यात्रु मध्य प्रदेशको पन्ना जिल्लाका हुन् । दुर्घटनापछि एम्बुलेन्ससँगै मेडिकल टोली पनि घटनास्थलमा पुगेको छ ।

घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ, त्यहाँ उनीहरुको उपचार भइरहेको छ । उत्तराखण्डमा भएको बस दुर्घटनापछि केन्द्रीय गृहमन्त्री अमित शाहले दुःख व्यक्त गर्नुभयो ।

भक्तजनले भरिएको बस खाडलमा खसेको अमित शाहले जानकारी गराउनुभयो । यस विषयमा मुख्यमन्त्री पुष्करसिंह धामीसँग कुरा गरेको बताउँदै शाहले राहत र उद्धार कार्य जारी रहेको बताउनुभयो ।

 

सम्बन्धित खबरहरु