काठमाडौं । बजारमा चिनीको अभाव नभएको सरकारले जनाएको छ ।

चिनीको अभाव भनेर हल्ला फिजाएसँगै मानिसहरुले एकै पटक धेरै किनेर थुपार्न थालेका छन् । त्यो जरुरी नभएको सरकारले स्पष्ट पारेको हो ।

नेपालमा चिनीको मौज्दात पर्याप्त भएकाले बजारमा हल्ला चलेजस्तो अभाव नभएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतले चिनी निर्यातमा रोक लगाएको अवस्थामा आवश्यक परेमा अरु देशबाट चिनी आयात गर्नेतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

तत्कालको लागि अभाव नहुने भन्दै उहाँले एकै पटक धेरै किनेर नथुपार्न उपभोक्तालाई आग्रह समेत गर्नुभएको छ ।

भारतले निर्यातमा रोक लगायो भनेर केही साना व्यापारीले कृत्रिम अभाव सिर्जना गरेकाले उपभोक्ताले गुनासो गरेको हुनसक्ने भन्दै मन्त्रालय अन्तर्गतको विभागले त्यसको अनुगमन थालिसकेको बताउनुभयो । कसैले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने गरेको पाइएमा कडा कारबाही हुने उहाँको भनाइ छ ।

तत्कालको लागि चिनीको अभाव नभएको र अभाव हुने अवस्था आएमा भारतबाहेकका अरु देशसँग पनि सहकार्य गर्ने उहाँले बताउनुभयो । भारतले अगस्ट महिनासम्म निर्यातमा रोक लगाए पनि उसले बाहिरी देशबाट कच्चा पदार्थ किनेर ल्याएर बिक्री गर्न सक्ने सम्भावना रहने भएकाले आत्तिनु पर्ने अवस्था नभएको उहाँको भनाइ छ ।

यस्तै भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपालकै कतिपय उद्योगीले किलोमा १० देखि १५ रुपैयाँ धेरै लिने गरेको गुनासो पनि आएको भन्दै त्यस्ता व्यापारीलाई कानुन अनुसार कारबाही हुने उहाँले बताउनुभयो ।

बजारमा चिनीको अभाव हुन थालेको उपभोक्ताले गुनासो गरेका छन् । नेपालको आन्तरिक उत्पादनले नपुग्ने भएकाले नेपाल भारतलगायतका विभिन्न देशमा चिनीमा परनिर्भर छ ।

भारतले गएको बुधवारदेखि कार्यान्वयनमा आउने गरी चार महिनाका लागि चिनी निर्यातमा रोक लगाएको छ । सरकारले भारत बाहेकका अरु देशसँग चिनी ल्याउनका लागि अहिलेसम्म खासै पहल गर्न थालेको छैन ।

 

सम्बन्धित खबरहरु