काठमाडौं । प्रहरीको गोली लागि १८ वर्षीया किशोरीको मृत्यु भएको छ ।

किशोरीको मृत्युपछि बर्दियाको मधुवन क्षेत्र तनावग्रस्त बनेको हो ।

स्थानीयले टायर बालेर गुलरिया–राजापुर सडक अवरुद्ध गरेका छन् । बाघको आक्रमणबाट बचाउन सुरक्षाको माग गर्दै स्थानीयले प्रदर्शन गरेपछि हिजो (सोमबार) साँझ प्रहरीले गोली चलाएको थियो ।

प्रहरीमाथि आक्रमण हुन थालेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ । बाघलाई नियन्त्रणमा लिन माग गर्दै प्रदर्शनमा उत्रिएका सर्वसाधारण र प्रहरीबीच झडप भएको जानकारी दिइएको छ ।

सडक खुलाउन लाग्दा भएको झडपमा गोली लागेर घाइते मधुवन–२ की १८ वर्षीया नवीना चौधरीको मृत्यु भएको हो ।

काखीमुनि गोली लागेका राकेश चौधरीको उपचार हुँदैछ । एसपी वीरबहादुर शाहीका अनुसार स्थानीयको ढुंगामुढाबाट प्रहरीतर्फ पनि ९ जना घाइते छन् ।

बर्दियाका वन्यजन्तुपीडितले सोमबार बिहानैदेखि सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए ।

साँझ ६ बजे ओराली बजारमा झडप भएको हो । समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएपछि स्थानीय बासिन्दा सडकमा उत्रिएका हुन् ।

 

सम्बन्धित खबरहरु