काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रपति, मन्त्री, न्यायाधीश र राजनीतिक दलका नेताहरूको बैंक खाता निगरानीमा राख्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

बिहीवार सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थामा संशोधन गर्दै केन्द्रीय बैंकले ‘उच्च पदस्थ’ व्यक्तिको परिभाषा संशोधन गर्दै बृहत् बनाएको हो ।

नयाँ प्रावधानले स्वदेशी उच्च पदस्थ व्यक्तिमा राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री, व्यवस्थापिका–संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी, सरकारको विशिष्ट श्रेणी वा त्यसभन्दा माथिका अधिकारी समेत परेका छन् । ।

यसैगरी उच्च अदालतका न्यायाधीश, उच्च राजनीतिज्ञ, राष्ट्रिय स्तरको राजनीतिक दलको नेता, केन्द्रीय पदाधिकारी, सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाका पदाधिकारी र त्यस्तो जिम्मेवारी पाएको व्यक्तिलाई परिभाषित गरेको छ ।

यसैगरी विदेशी उच्च पदस्थ व्यक्तिमा विदेशी राष्ट्रप्रमुख, सरकारप्रमुख, उच्च राजनीतिज्ञ, राष्ट्रिय स्तरको राजनीतिक दलको केन्द्रीय पदाधिकारी, उच्च प्रशासक, उच्च न्यायिक अधिकारी, उच्च सुरक्षा अधिकारी लगायतलाई राखेको छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

सम्बन्धित खबरहरु