काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि जेठ १५ गते संघिय संसदमा पेश गरेको बजेट मार्फत २०० सीसीभन्दा माथिका मोटरसाइकलमा कर तथा भन्सार महशुल वृद्धि गरे पश्चात् मोटरसाइकल बजारमा हलचल पैदा भएको छ ।

विशेषगरी ३५० सीसी सेग्मेन्टमा सरकारको आँखा धेरै गएको देखिन्छ ।

अहिले नेपालमा रोयल इनफिल्ड, होन्डा, जावा, केटीएम जस्ता ब्राण्डले वार्षिक १५ हजार यूनिट हाराहारी ठूला मोटरसाइकल विक्री गर्दै आएको तथ्यांक देखिएपछि सरकारले भन्सार वृद्धि गरेको हो ।

यसरी सरकारले एकै पटक धेरै कर बढाएसँगै यो सेग्मेन्टको मोटरस २ लाख रुपैयाँसम्मले मूल्य वृद्धि हुने अनुमान गर्न सकिन्छ ।

नेपालमा यो सेग्मेन्टमा धेरै मोटरसाइकल विक्री गर्ने कम्पनी रोयल इनफिल्ड र होन्डाले मोटरसाइकलको नयाँ मूल्यसूची प्रकाशन गरिसकेको छन् ।

रोयल इनफिल्डका लागि नेपालको नयाँ वितरक अल्फा अटोमोवाइल्सले नयाँ मूल्यसूची सार्वजनिक गरेर एउटै मोटरसाइकलमा २ लाख २१ हजारसम्म मूल्य बढाएको छ ।

त्यस्तै, होन्डाले १ लाख रुपैयाँसम्म मूल्य वृद्धि गरेको छ ।

अर्को कम्पनी जावाले ३०० सीसीदेखि ३३५ सीसीसम्मका मोटरसाइकल विक्री गर्दै आएको छ । कम्पनीले हालसम्म जावाका मोटरसाइकलमा मूल्य वृद्धि गरेको छैन ।

यी ब्राण्डका अलावा बेनेली, टीभीएस, बीएमडब्लू जस्ता ब्राण्डले पनि ३०० सीसी माथिका मोटरसाइकल विक्री गर्दै आएको छ । यद्यपि कम्पनीहरुले मूलय भने बढाइसकेका छैनन् ।

यी ब्राण्डहरुले पनि अबको केही दिनमा नै नयाँ मूल्यसूची सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।

सरकारको नजरमा निकै विलासी मोटरसाइकलको रुपमा यो सेग्मेन्ट परेको भन्दै नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले बढाइएको कर फिर्ता लिन माग गरेको छ ।

‘हाम्रो बाटोको अवस्था, साहसिक पर्यटन र राइडिङ कल्चरको विकास गर्न पनि ३५० सीसीका मोटरसाइकल आवश्यक छ । सरकारको नीतिका कारण शोरुम बन्द गरेर बस्नु पर्ने अवस्था आएको छ’, नाडाका टु ह्वीलर कमिटि सभापति अभिक ज्योतिले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु