काठमाडौं । निहारिका राजपूतको उमेर मात्र १९ बर्षको छ । नेपालको कानूनले उनलाई विवाह गर्ने उमेर नै भएको छैन भन्छ ।

तर उनीबाट २१ महिना पहिले बच्चा जन्मिएको छ । बच्चापनि आफ्नै साथीको दाजुले बलात्कार गरेर जन्मिएको उनको दावी छ ।

दावी असत्य भए जेपनि सहन तयार भएको घोषणा गर्दै डिएनए परीक्षणका लागि उनले माग गर्दै आएकी छिन् । तर अदालतले मुद्धा हराई दिन्छ ।

न्यायको आशा अझै राखेर पुनरावेदन सुन्ने अदालत जाँदा त्यहाँ सुनुवाईका लागि पेशी तोकिन्न । तत्काल पेशी तोक्न र न्यायको प्रत्याभूति दिलाउन उनले आमरण अनसन बस्ने निर्णय गरिन् ।

यो १९ बर्षीय युवतीको नेपालको न्यायलयप्रतिको क्रान्ति हो । काखमा दूधे बालक बोकेर उनले राजधानी काठमाडौंको मुख्य स्थान माइतिघर नजिक अनसन सुरु गरेको केही दिन वित्यो ।

उनले बरु आफ्नो ज्यान जाओस् न्यायको प्रत्याभूति नपाएसम्म अनसन तोड्दिन भन्ने अठोट लिएकी छिन् ।

भुईंमा बिछ्याइएको पातलो म्याटमा पातलो डसना र ब्लांकेट उनको सहारा बनेका छन् । भित्रै गढेका आँखा, सुकेर कलेटी परेको अनुहारले नै अझ धेरै बताउँछन्, उनी गम्भीर दुःखमा छिन् ।

त्योभन्दा बेसी उनको अठोटले बताउँछ, राज्यको न्यायप्रणालीका विरुद्ध उनी विद्रोहमा छिन् ।

महोत्तरीकी निहारिका भर्खर कक्षा ११ पढ्दै थिइन् । पढ्ने लेख्ने काम उनी साथीहरुसँग मिलेर गर्थिन् । सधैंको जस्तै उनी आफूसँगै पढ्ने साथीको घरमा गृहकार्य गर्न गइन् । साथीसँगै मिलेर गृहकार्य गर्दै गर्दा निहारिकाका दाजुले षड्यन्त्र रचे ।

खानेकुरामा बेहोस हुने औषधि मिसाएर खान दिएर बलात्कार गरे । होस् खुल्दा उनले आफू बलात्कृत भएको थाहा पाइन् । उनको शरीर सामान्य अवस्थामा थिएन । यो घटना २०७६ साल कात्तिकको हो । आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएको उनको भनाइ छ ।

घटना पश्चात् उनी घर गइन् । उनले आफू माथि भएको बलात्कारको बारेमा परिवारलाई बताइन् । तर परिवारको साथ पाइनन् । निहारिका भन्छिन्, ‘परिवारले ममाथि भएको बलात्कारलाई भन्दा आफ्नो इज्जतलाई प्यारो ठान्यो, मेरो मुख थुन्नका लागि अनेकौं प्रयास गरियो ।’

उनले कानुनी लडाइँ लड्ने निर्णय गरिन् । घटना भएको १४ दिनमै जाहेरी दिन उनी प्रहरी कार्यालय पुगिन् ।

तर न्याय मिलेन । उनी पटक–पटक प्रहरी कार्यालय पुगिन् । आफूमाथि बलात्कार भएको प्रमाणको लागि मेडिकल जाँच गराइन् । जाँचबाट उनी गर्भवती भएको पत्ता लाग्यो । त्यसपछि उनलाई गर्भपतन गराउन चौतर्फी दबाव आउन थाल्यो । तर उनले अपराधि जोगाउन सकिनन् ।

‘बलात्कारबाट गर्भवती भए पनि पेटभित्र हुर्किएको बच्चा निर्दोष छ अपराधी त त्यो बलात्कारी हो’ निहारिका भन्छिन्, ‘गर्भवती भएपछि झन् बलियो भएँ ।’ त्यसैले म अदालत गए ।

अदालतमापनि जिल्ला अदालतले उनलाई न्याय दिन सकेन । उनी पुनरावेदन गइन् । तर पुनरावेदनले पेशी तोकेको छैन । उनले पेशी तोकेर आफूलाई न्यायको ग्यारेण्टी गर्न माग गरेकी छिन् ।

सम्बन्धित खबरहरु