काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले भेटवार्ता गरी आफ्ना मागको स्मरण गराउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज लोसपा अध्यक्ष महन्थ ठाकुर नेतृत्वमा गएको लोसपाको प्रतिनिधिण्डलले यही जेठ २४ गते बुझाएको ११ बुँदे मागसहितको ज्ञापनपत्रबारे ध्यानाकर्षण गराएको हो ।

प्रधानमन्त्री समक्ष हालै बुझाएको मागको ‘फलोअप’ को रुपमा भेटगरी छलफल भएको लोसपाका नेता लक्ष्मणलाल कर्णले राससलाई जानकारी दिनुभयो ।

जवाफमा प्रधानमन्त्री देउवाले आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक संसद्बाट पारित भएलगत्तै लोसपाका माग सम्बोधन गर्ने बचन दिनुभएको नेता कर्णले बताउनुभयो ।

“हामी (लोसपा) ले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनबारे फलोअपस्वरुप भेटघाट गरेका हौँ, बजेटपछि मागको सम्बोधन हुन्छ भन्नुभएको छ”, नेता कर्णले भन्नुभयो ।

लोसपाले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने तथा आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै प्रधानमन्त्री समक्ष ज्ञापन बुझाएको थियो ।

अध्यक्ष ठाकुरका साथमा नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, कर्णलगायतका नेताहरू बालुवाटार पुग्नुभएको थियो ।

 

सम्बन्धित खबरहरु