काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानविन समिति गठन गरेको छ ।

रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानविन गर्न समिति गठन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरिएको छ ।

रजिष्ट्रार प्रा डा दाहालले छानविन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको बताउनुभयो ।

त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुई विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि त्रिविले छानविन समिति गठन गरेको हो ।

मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।

६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई बर्षको हुबहु मिलेको छ ।

त्रिविले विज्ञ समूहलाई प्रश्नपत्र बनाए पनि प्रश्नपत्र सेट गर्नेको लापरवाहीका कारण अघिल्लो बर्षको प्रश्नपत्र दोहरिने गर्दछ । रासस

सम्बन्धित खबरहरु