काठमाडौं । भारतमा चरम धार्मिक हिंसा भड्किदै गएको छ ।

भारतको उत्तर प्रदेश राज्यमा प्रशासनले केही मुस्लिम नेताको घर भत्काइएको छ । धार्मिक प्रदर्शनले हिंसात्मक रूप लिएपछि त्यसमा सहभागी नेताहरूको तीन वटा घर प्रशासनले भत्काएको हो ।

मुख्यमन्त्री आदित्यनाथका सञ्चार सल्लाहकार मृत्युञ्जय कुमारले एउटा ट्वीट गरेर डोजरले भवन भत्काउँदै गरेको तस्वीर सार्वजनिक गर्नुभएको छ ।

भत्काइएकामध्ये दुई वटा घर शुक्रवारको प्रार्थनापछि ढुङ्गा प्रहारमा संलग्न भएको आरोप लागेका व्यक्तिको भएको बीबीसीले जनाएको छ । अर्को घर चाहिँ राजनीतिज्ञ जावेद अहमदको हो ।

भाजपाकी पूर्वप्रवक्ता नूपुर शर्मा र भाजपाकै दिल्ली सञ्चार एकाइका प्रमुख नवीन कुमार जिन्दलले पैगम्बर मोहम्मदबारे विवादास्पद अभिव्यक्ति दिएका थिए ।

भाजपाले शर्मालाई निलम्बन र जिन्दललाई पार्टीबाट निष्कासन गरेर उनीहरूको भनाइमा पार्टीको धारणा नरहेको बताए पनि विरोध प्रदर्शन रोकिएको छैन । प्रदर्शनमा चलाइएको गोली लागेर झारखण्डमा दुई जनाको ज्यान गएको छ ।

प्रदर्शनका क्रममा उत्तर प्रदेशमा तीन सय जनाभन्दा धेरै पक्राउ परेका छन् । घर भत्काउने कदमको विपक्षी दलका नेताहरूले विरोध गरेका छन् ।

उनीहरूले मुख्यमन्त्री योगी आदित्यनाथ नेतृत्वको सरकारले अल्पसङ्ख्यक मुस्लिम समुदायलाई तारो बनाएको आरोप लगाएका छन् ।

घर भत्काउने कार्यमा संलग्न प्रयागराज विकास प्राधिकरणका अधिकारीले भने ती घरहरू गैरकानुनी भएकोले मे महिनामै कार्यालयमा हाजिर हुन सूचना जारी गरिएको बताएका छन् ।

तर पीडितहरूले भने शुक्रवारको प्रदर्शनपछि शनिवार मात्रै एकाएक घरमा सूचना टाँसिएको बताएका बीबीसीले जनाएको छ ।

 

सम्बन्धित खबरहरु