काठमाडौं । विवादित राज्यमन्त्री विमलाकुमारी खत्री (वली) ले आफ्नो कुरा राख्नु भएको छ ।

मंगलबार दिनभरी चर्चामा रहेको घटनाबारे मन्त्री वलीले बाहिर आएको भन्दै फरक कुरा पेश गर्नुभएको हो ।

दाङको तुलसीपुर–५ बसपार्कस्थित वाइसिएल नेता एकराज बस्नेतलाई आफ्नो श्रीमान भनेर उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोप राज्यमन्त्री वलीमाथि छ ।

सोही घटना सम्बन्धमा प्रतिक्रिया दिँदै वलीले एकराजसँग अवैध सम्बन्ध नभएको तर पैसाको कारोबार भने बाँकी रहेको जानकारी दिनुभयो ।

आफ्नो पैसा माग्न गएको वेला नियोजित तरिकाले फसाउनका लागि यस्तो प्रपञ्च रचेको उहाँले आरोप पनि लगाउनुभयो ।

मन्त्री वलीका अनुसार वाइसिएल नेता एकराज बस्नेतसँग पैसाको कारोबार बाँकी छ । सोही कारोबार मिलाउन बस्नेतसँग एक हप्तादेखि छलफल जारी थियो । उहाँका अनुसार एकराज फोनमा कुरा भए पनि एक हप्तादेखि सम्पर्कमा आएका थिएनन् ।

त्यसपछि बाध्य भएर आफू घरमै जानु परेको उहाँले बताउनुभयो । एकराजले राज्यमन्त्री वलीको पैसा सापटी लिएका छन् । त्यही पैसा फिर्ता लिनका लागि वली घर गएकी हुन् । घर जानुभन्दा केही समय अघिसम्म पनि एकराजले फोनमा कुरा गरेका थिए ।

तर घरमा पुगेपछि आफूले एकराजलाई भेट्टाउन नसकेको उहाँले जानकारी दिनुभयो । घरमा पुग्दा पनि एकराजलाई नदेखेपछि आफूले खोइ । एकराज भनेर सोधेको कुरा उहाँले उल्लेख गर्नुभएको छ । केही समय पहिलेसम्म फोन भएको थियो तर अहिले सम्पर्क हुँदैन भनेर आफूले एकराजको श्रीमतीलाई सुनाएको उहाँले बताउनुभयो । विमलाका अनुसार त्यसपछि एकराजकी श्रीमतीले जेठाजु वीरेन्द्र बस्नेतलाई बोलाउनुभयो ।

घटना भएपछि जेठाजु वीरेन्द्र बस्नेतसहित घरपरिवार र छिमेकी आएका हुन् । मन्त्री वलीले जेठाजु वीरेन्द्रले भित्रबाट घरको गेटमा चुकुल लगाएर आफूलाई गालीगलौज गरेको आरोप पनि लगाउनु भएको छ । अपशब्द बोल्दै एकपटक वीरेन्द्र पिट्न भनेर उठेको पनि उहाँले जानकारी दिनुभयो ।

त्यतिवेला, पिएसओ र मीनाका ससुरा बुबाले छेकेका थिए । त्यसवेला उल्टै आफूमाथि एक करोड हिनामिना गरेको, सुन चोरेकोसम्मको आरोप लगाइएको समेत उहाँले स्पष्ट पार्नुभएको छ ।

एकराजकी श्रीमतीसँग तानातान हुँदा मन्त्री वलीको पनि चुरा फुटेको छ । आफू सामान्य कुरा गरेर फर्किने तयारी गरेको पनि उहाँको भनाई थियो ।

यता, एकराजकी श्रीमती मीनाले आफू र छोरीलाई राज्यमन्त्री वलीले कुटपिट गरेको आरोप लगाउनु भएको । सोहीअनुसार मुद्दा दर्ता गर्ने तयारी हुँदैछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु