काठमाडौं । फिफाले २०२६ विश्वकप आयोजना गर्ने तीन देशका १६ सहरको नाम सार्वजनिक गरेको छ ।

फिफाले बिहिबार उक्त सहरहरुको नाम सार्वजनिक गरेको हो । फिफा विश्व फुटबलको सर्वोच्च निकाय हो ।

१६ सहर सार्वजनिक गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकामा २०२६ पछि फुटबल नम्बर एक खेल हुने घोषणा समेत गर्नुभएको छ ।

२०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्ने भएका छन् । अमेरिकाको ११ सहरमा विश्वकप आयोजना हुने भएको छ ।

त्यस्तै मेक्सिकोको तीन र क्यानडाको दुई सहरमा विश्वकप आयोजना हुन लागेको हो ।

१९९४ विश्वकपमा छुटेका अमेरिकाको सहरहरू एटलान्टा, ह्युस्टन, मायामी, फिलाडेल्फिए, सियाटल र कान्सस सिटीले यसपटक विश्वकप आयोजनाको जिम्मेवारी पाएसँगै १९९४ को विश्वकप आयोजना गरेका बाल्टिमोर, सिनसिनाटी, डेनभर, न्यासभिल, टेनेसी र फ्लोरिडाको ओर्लान्डो भने यसपटक जिम्मेवारी पाएनन् ।

अमेरिकाका सबै ११ रंगशाला एएफएल टिमका घरेलु सहर हुन् । यो अवसर पाएसँगै मेक्सिको सिटीको एज्टाका रंगशाला तीनपटक विश्वकप आयोजना गर्ने पहिलो रंगशाला बन्ने भएको छ । यस रंगशालामा १९७० र १९८६ विश्वकपको फाइनल खेल आयोजना गरिएको थियो ।

क्यानडाका टोरन्टो र भान्कोउभरले २०२६ को विश्वकप आयोजनाको जिम्मेवारी पाएका छन् । राजधानी सहर वासिङ्टन डिसीले भने विश्वकपका खेल आयोजना गर्ने जिम्मेवारी पाएको छैन् ।

मेक्सिकोको ग्वेडेलाजारा र मोन्टेरी सहरले पनि विश्वकप आयोजनाको जिम्मेवारी पाएको छ ।

२०२६ को विश्वकपमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । अहिलेसम्म ३२ राष्ट्रले मात्र प्रतिस्पर्धा गरेका थिए ।

 

सम्बन्धित खबरहरु