काठमाडौं । रसुवा, गोसाईकुण्ड गाउँपालिका-१ थुमन बस्ने ४६ वर्षीया वाङमु तामाङ सोही ठाउँस्थित उत्तिसघारी जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
विगत ५/७ दिनदेखि घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
रुकुम (पूर्व), पुथा उत्तरगंगा गाउँपालिका-१४ त्रिबेणीस्थित खोला किनारमा सोही गाउँपालिका-१२ घर भएका ५५ वर्षीय जय बहादुर पुन शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
तेह्रथुम, आठराई गाउँपालिका-१ डाँडागाउँ जाने बाटोको जंगलमा सोही ठाउँ बस्ने ३१ वर्षीया तारा भुलेल शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । विगत ६र७ दिनदेखि हराई बेपत्ता भएकी ताराको उक्त जंगलमा शव फेला परेको हो ।
नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका-२ फेनहरा बस्ने ६७ वर्षीय राधे चमार प्रतापपुर गाउँपालिका-७ सूर्यापुरास्थित गण्डक नहर सूर्यापुरा पावर हाउसको जालीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, हरिवन नगरपालिका-१० ताईवान टोलस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका सोही ठाउँमा मागी खाई हिँड्ने करिब ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी राप्ती गाउँपालिका-५ पहरुवा बस्ने ४२ वर्षीय मोहन चौधरी मृत अवस्थामा फेला परेका छन् ।
उनको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको जनाइएको छ ।
आफ्नै घरबाट विद्युतको लाईन जडान गरी नालाको पानी खेतबारीमा लगाउने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचरको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट स्काईभेटर जलेर क्षति
सुनसरी । रामधुनी नगरपालिका-७ कडगरास्थित प्लटिङ जग्गाको बाटोमा राखिरहेको स्काईभेटर आगलागीबाट पूर्ण रुपमा क्षति भएको छ ।
स्काईभेटरमा आगलागी भई पूर्ण रुपमा क्षति भएको भन्ने खबर शुक्रबार बिहान प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकली र अस्थाई प्रहरी चौकी पंचायनबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।