काठमाडौं । चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ ।

पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु र निर्माण व्यवसायीको कन्सट्रक्शन होलिडे का कारण लक्ष्यभन्दा कम मात्रै सडक कालोपत्र हुने देखिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा एक हजार आठ सय किमी सडक कालोपत्रको लक्ष्य लिएको थियो । गएको महिनासम्ममा झन्डै ६ सय किमी मात्रै कालोपत्र गरिसकिएको सडक विभागका महानिर्देशक अर्नुनजङ्ग थापाले बताउनुभयो ।

आठ सय किमी सडक ग्राभेल गर्ने लक्ष्य लिइएकोमा अहिलेसम्म दुई सय ९५ किमी सम्पन्न भएको छ । अहिले पनि ुकन्सट्रक्नश होलिडेु का कारण निर्माण सुस्त छ । उहाँले भन्नुभयो, ‘यो महिनाको अन्तिमसम्ममा एक–डेढ सयसम्म बढ्नसक्छ ।’

गएको महिनासम्ममा मन्त्रालयको भौतिक प्रगति ५५ प्रतिशत थियो । भुक्तानी कम भएकाले वित्तीय प्रगति भने झन्डै ३९ प्रतिशतमात्रै थियो । कतिपय योजनामा काम हुने तर बजेट नहुने र कतिपयमा बजेट हुने तर काम नहुने समस्या रहेको छ ।

काम भएको शीर्षकमा पैसा नभएमा काम नभएका शीर्षकबाट त्यसमा रकमान्तर गर्नुपर्ने हुन्छ । अर्थ मन्त्रालयमा रकमान्तरका लागि अनुरोध गरिएको र मन्त्रालयले स्वीकृत गरेपछि भुक्तानी गरिने महानिर्देशक थापाले बताउनुभयो ।

चालु आवमा प्रगति ६० देखि ६५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गएको वर्षमा सुरु विनियोजनअनुसार ७६ प्रतिशत प्रगति भएको थियो । चालु आवमा गएको वर्ष जति प्रगति नहुने उहाँको भनाइ थियो ।

चालु आवमा पूरक बजेट तीन महिना ढिला भएकाले यकिन विनियोजन ढिला मात्रै थाहा भएको महानिर्देशक थापाले बताउनुभयो । पछिल्लो दुई वर्षदेखि कोभिड सङ्क्रमणका कारण निर्माणमा असर पुगिरहेको छ । चालु आवमा पनि सङ्क्रमणका कारण निर्माणमा अवरोध पुगेको भएको मन्त्रालयले जनाएको छ ।

अहिले रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थ, रड, छडलगायतको निर्माण सामग्रीको भाउ निकै बढेको छ । युद्धपछि ती सामग्रीको भाउ अहिले दोब्बर भएपछि निर्माण व्यवसायीले ‘कन्सट्रक्नश होलिडे’ गरिरहेका छन् । महानिर्देशक थापाले भन्नुभयो, ‘व्यवसायीले अलकत्राको काम नगरेको, छडको काम कम गरेको र इन्धन लाग्ने काम कम गरेका छन् ।’

सरकारले केही वर्षयता बर्सेनि तीन सय वटा पुल निर्माणको लक्ष्य लिँदै आएको छ । गएको महिनासम्ममा एक सय पाँच वटा पुल निर्माण गरिएको थियो । अरू पुल पनि सम्पन्न भइरहेको महानिर्देशक थापाले बताउनुभयो । कतिपय पुलको मुख्य संरचना निर्माण सकिएर रेलिङ, रङ, पहुँच सडक बन्न बाँकी छ । उहाँले भन्नुभयो, ‘यो महिनामा गएको वर्षभन्दा कम हुँदैन भन्ने विश्वास छ ।’

अहिले निर्माणाधीन सडक र पुल समयमा नसकिएमा असारपछि अवधि थप गर्नुपर्ने हुनसक्ने सडक विभागले जनाएको छ । ठेक्काको अवधि थप्नका लागि कारण चाहिने महानिर्देशक थापाले बताउनुभयो । योजना समयमा नसकिनु नै प्रमुख कारण भएकाले त्यो अर्को वर्षका लागि धकेलिन सक्ने उहाँको भनाइ थियो ।

समग्रमा सडकमा प्रगति कम भए पनि राष्ट्रिय गौरवको आयोजनामा भने चालु आवमा छुट्टाइएको रकमभन्दा बढी खर्च हुने देखिएको छ । अहिले नै ती आयोजनामा सुरुमा भएको विनियोजन रकम खर्च भइसकेको छ । भौतिक प्रगतिका आधारमा पनि उल्लेखीय काम भएको पाइएको विभागका महानिर्देशक थापाले बताउनुभयो । मदन भण्डारी राजमार्गमा चालु आवमा दुई अर्ब रुपैयाँ विनियोजन भएकोमा अहिलेसम्म साढे तीन अर्ब रुपैयाँ खर्च भइसकेको छ । यस आयोजनामा अझै एक–डेढ अर्ब रुपैयाँ थप खर्च हुने देखिएको छ । हुलाकी राजमार्गमा पनि गएका वर्षहरूमा जस्तै धेरै खर्च भएको उहाँले जानकारी दिनुभयो । मध्यपहाडीमा विभिन्न किसिमका विवादले तुलनात्मकरूपमा कम खर्च भएको छ ।

चालु आवमा लक्ष्यभन्दा कम प्रगति हुने देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले विनियोजन बजेट शीर्षकमाथि प्रतिनिधि सभाको बैठकमा बताउनुभएको थियो । सरकारले विगतमा सुरु गरेका कतिपय योजनाका स्तरोन्नति आउँदो आवमा हुने उहाँले जानकारी दिनुभएको थियो।

चालु आवको पहिलो आठ महिनामा तीन सय २५ किमी सडक कालोपत्र र ८० वटा पुल निर्माण भएको सरकारले गएको महिना सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । त्यस सर्वेक्षणअनुसार गएको फागुनसम्ममा दुई सय ६५ किमी सडक खण्डस्मिथ (ग्राभेल) भएको थियोे भने ९५ किमी सडक मर्मत भएको थियो ।

अहिलेसम्म १६ हजार नौ सय ३९ किमी कालोपत्र सडक र आठ हजार हजार आठ सय २१ किमी कच्ची गरी सडकको लम्बाइ ३३ हजार आठ सय ७१ किमी पुगेको छ । गएको असारसम्म १६ हजार ६ सय १४ किमी कालोपत्र, आठ हजार ७१ किमी खण्डस्मिथ र आठ हजार नौ सय ३१ किमी कच्ची सडक बनेको थियो । रासस

 

सम्बन्धित खबरहरु