काठमाडौं । विश्वभर विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै भएको तथ्य बाहिर आएको छ ।

संयुक्त राष्ट्र सङ्घीय निकाय, संयुक्त राष्ट्र सङ्घ बाल कोष (युनिसेफ) ले अहिले विस्थापित बालबालिकाहरूको सङ्ख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ ।

यो सङ्ख्या गएको वर्ष सन् २०२१ को अन्त्यतिरको भएको पनि राष्ट्र सङ्घीय अधिकारीहरूले शुक्रवार जनाएका छन् ।

विषेशगरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको पनि अध्ययनले देखाएको छ ।

‘दोस्रो विश्व युद्धपछि एकै पटकमा यति धेरै बालबालिका विस्थापित भएको अहिले पहिलो पटक हो’, युनिसेफले निकालेको विज्ञप्तिमा लेखिएको छ ।

अघिल्लो वर्षको तुलनामा विस्थापितको सङ्ख्या २२ लाख बढी देखिएको छ । विषेश गरेर हिंसात्मक घटनाहरूका कारण बालबालिकाहरू धेरै विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तन र वातावरणीय समस्या पनि बालबालिका विस्थापित हुनुको अर्को मुख्य कारण भएको जनाइएको छ ।

जलवायु परिवर्तन र वातावरणीय समस्याका कारण बाढी पहिरो आउने र त्यसका कारण उनीहरू विस्थापित हुनुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी रुस—युक्रेन युद्धको असर विश्वभरि परेको र त्यसको असर बालबालिकाहरूमा परेको पनि युनिसेफले जनाएको छ ।

 

सम्बन्धित खबरहरु