काठमाडौं । मुलुकले आज नयाँ मिस नेपाल प्राप्त गर्नेछ । बेलुका ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुँदैछ ।

कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो । द हिडन ट्रेजरले यसपटकको संस्करणलाई भव्य तुल्याइने जनाएको छ ।

६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटकको संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन् ।

यसपटक सुप्रान्यासनल टाइटललाई हटाइएको छ । मुख्य तीन टाइटलबाहेक बाँकी ९ वटा सब–टाइटलको विजेतासमेत घोषणा हुने तयारी छ । आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् ।

नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिनेछिन् ।

फिनालेमा गीत तथा नृत्य प्रस्तुतिसमेत दिइने भएको छ । यसपटकको मिस नेपालमा अहिलेसम्मकै धेरै आवेदन परेको थियो । झन्डै ८०० सुन्दरीले दिएको आवेदनबाट अडिसन हुँदै अन्तिम २४ जना छानिएको हो ।

पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमासमेत अडिसन आयोजना गरिएको थियो ।

अन्तिम २४ मा अनुष्का पौडेल , श्रीयांशु पिया , दिलाशा डोटेल , आश्रा श्रेष्ठ , आयुषनोभा ढुंगाना , आकृति शाह , मेरिका बाँस्कोटा , मानषी चन्द , स्मारिका शर्मा, श्रीया गजुरेल , सुस्मिता बोगटी , ममता ढकाल , ऐश्वर्या शाही ठकुरी , सरिषा श्रेष्ठ , अनुश्रुया डाँगी , ऋतुल पौडेल , प्रियंकारानी जोशी , यशस्वी श्रेष्ठ , रोज कँडेल, न्यान्सी खड्का , सोफिया श्रेष्ठ, आश्रुुति सुवेदी , गंगा गुरुङ र अस्मिता ढुंगाना रहेका छन् ।

अन्तिम २४ मा छानिए ६ डाक्टर

सौन्दर्य प्रतियोगिता मिस नेपालमा यसपटक ६ डाक्टरहरू प्रतिस्पर्धामा छन् । नेपालमा बलियो सौदर्य प्रतियोगिता मानिने मिस नेपालमा विभिन्न पेशा व्यवसायका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।

जहाँ ६ जना डाक्टरसँगै तीन जना इन्जिनियर छन् भने बाँकी उद्यमी र सञ्चारकर्मी छन् । अन्तिम २४ मा छानिएकामध्ये ३ नम्बरकी दिलाशा डोटेल, ५ नम्बरकी आयुष्नोभा ढुंगाना, ७ नम्बरकी मेरिका बाँस्तोला, १४ की सरिषा श्रेष्ठ, १८ की यशस्वी श्रेष्ठ र २३ नम्बरकी गंगा गुरुङ चिकित्सक हुन् । उनीहरूलाई गत आइतबार प्रतिस्पर्धी नम्बर र ब्याच वितरण गरिएको थियो ।

 

सम्बन्धित खबरहरु