काठमाडौं । एमाओवादी स्थायी कमिटीको बैठक सुरु हुनुअघि शुक्रबार अचानक प्रधानमन्त्री सुशील कोइराला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवास लाजिम्पाट पुगे पनि राजनीतिक गतिरोधमा कुनै कमी आउन सकेन ।
पूर्वनिर्धारित समय शुक्रबार अपराह्न १ बजे स्थायी समिति स्तरको बैठक प्रारम्भ हुनुभन्दा केही घन्टाअघि प्रचण्ड दरबारमा पुगेका कोइरालाले आफूले गेट क्र्यास गरेको बताएपछि केही समय दुई नेताबीच विद्यमान राजनीतिक परिस्थितिबारे सांकेतिक प्रश्नोत्तर भएको थियो ।
′गेट क्र्यासभन्दा पहिले वातावरण बनाउनु पर्दैन, त्यसै आउने ?′ भन्ने दाहालको प्रश्नमा प्रधानमन्त्रीले सहज उत्तर दिँदै भने, ′गेट क्र्यासका लागि के को वातावरण बनाउनुपर्यो ?′
दाहालले स्थायी समिति बैठकमा प्रधानमन्त्री कोइरालासँग भएको भेटबारे दिएको जानकारी उद्धृत गर्दै नेता अग्निप्रसाद सापकोटाले भने, ′प्रचण्डले एमाओवादीसहितको विपक्षी दलहरूको असहमतिका बाबजुद संविधानसभाको गत आइतबार बसेको बैठकले पारित गरेको प्रश्नावली प्रस्ताव निर्माण समिति खारेज गरेपछि अन्य कुरा अघि बढ्छ भन्नुभयो।′ आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।