काठमाडौं । पाकिस्तानले आफ्नो देशको क्षेत्रीय जल सीमा उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका २० जना भारतीय माझीलाई रिहा गरेको छ । बन्दरगाह शहर कराँचीको जेलमा उनीहरूलाई चार वर्ष राखिएको थियो ।

आज काराबासमुक्त भएका भारतीय नागरिक यहाँबाट पूर्वी शहर लाहोरको बस चढेर स्वदेश फर्केका छन् भने कराँचीका जेलमा अझै पनि दर्जनौँ भारतीय माझी रिहाईको प्रतीक्षामा छन् । आज रिहा भएकाहरूलाई सीमा नाका बागामा भारतीय अधिकारीहरूलाई सुम्पिइनेछ ।

भारत र पाकिस्तानले बेलाबेलामा आफ्नो जलक्षेत्र पार गरेको आरोपमा एक अर्काका नागरिकलाई पक्राउ गर्दै आएका छन् भने द्विपक्षीय वार्तापछि केहीलाई प्रत्येक वर्ष रिहा पनि गर्दै आएका छन् ।

काश्मिर मुद्दालाई लिएर विगत सात दशकदेखि भारत र पाकिस्तानबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन ।

भारतले सन् २०१९ को अगष्टमा काश्मिरको विशेष स्वायत्ततालाई एकतर्फीरुपमा खारेज गरेपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

सम्बन्धित खबरहरु