काठमाडौं । सर्लाही, कबिलासी नगरपालिका-८ स्थित सडको कुलोमा सोही ठाउँस्थित अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी सर्लाही, बागमती नगरपालिका-११ बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका व्यक्तिको शव मंगलबार सडिगलेको अवस्थामा फेला परेको छ ।

रोल्पा, रोल्पा नगरपालिका-४ लिवाङस्थित घरेलु अफिसको होस्टेलको कोठामा रुन्टिगढी गाउँपालिका-५ छिन्नेटा बस्ने १९ वर्षीया कृष्णी कामी मंगलबार मृत अवस्थामा फेला परेकी छन् । उनी घरेलुले संचालन गरेको ब्यूटी पार्लर सम्बन्धि तालिम लिँदै आएको बुझिएको छ ।

नवलपरासी (पूर्व), कावासोती नगरपालिका-८ स्थित कैलाश चोक बस्ने ७० वर्षीय पूर्ण प्रसाद पंगेनी सोही ठाउँस्थित लौडा तालमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

बर्दिया, मधुवन नगरपालिका-४ माचड चोक डेरा गरी बस्ने कैलाली भजनी नगरपालिका-१ घर भएका ३३ वर्षीय मिन प्रसाद न्यौपाने आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी सर्लाही, लालबन्दी नगरपालिका-६ स्थित लालबन्दी साझेदारी वनमा सोही ठाउँ बस्ने ६६ वर्षीय विष्णुलाल दमाई सोमबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, माडी नगरपालिका-९ कुसुम खोला गोठेरी भन्ने स्थानमा सोही नगरपालिका-९ राईडाँडा बस्ने ६० वर्षीय रत्न बहादुर पनेरु सोमबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखा, पालुङटार नगरपालिका-५ हवाई ग्राउण्डस्थित मर्स्याङ्दी नदीको किनारमा सडी गलिसकेको अवस्थामा करिब ५० वर्षीय पुरुषको सोमबार शव फेला परेको छ ।

यसैगरी गोरखामा राम कुमार लिम्बु मृत अवस्थामा फेला परेका छन् । विद्युत प्राधिकरण गोरखामा कार्यरत ताप्लेजुङ मैयाखोला गाउँपालिका-५ घर भएका ३२ वर्षीय राम कुमार लिम्बुको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु फेला परेका हुन् ।

डुबेर मृत्यु
सुर्खेत । पञ्चपुरी नगरपालिका-५ गोटिहोम खोलामा नुहाउने क्रममा डुबेर कैलाली लम्किचुवा नगरपालिका-१ घर भएका दुर्गा प्रसाद रिजालको छोरा १५ वर्षीय नारायण रिजालको सोमबार दिउँसो मृत्यु भएको छ ।

सोही नगरपालिका-५ बाबियाचौरस्थित शिवधाम गुरुकुल विद्यालयको छात्राबासमा बसी कक्षा ८ मा अध्ययनरत उनलाई उक्त खोलामा डुबेर अशक्त भएको अवस्थामा उद्दार गरी पोलिक्लिनिक सुर्खेत लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी पञ्चपुरी नगरपालिका-५ पालबजार बस्ने राम बहादुर नेपालीकी छोरी ९ वर्षीया देवी नेपालीको खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित तिखाकुना खोलामा पानी घट्टको कुलोमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु