काठमाडौं । अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् ।
सामाजिक सञ्जालमा आएका तस्वीर बाट घाइतेको सङ्ख्या अनुमान गरिएको हो । सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ ।
यस प्रदेशमा ठूलो संख्यामा घर भग्नावशेषमा परिणत भएका छन् । त्यहाँबाट आएको तस्वीरमा घाइतेहरुलाई स्ट्रेचरमा बोकेर लिइरहेको देख्न सकिन्छ ।
एक स्थानीय अधिकारीले बीबीसीलाई मृतकको संख्या २५० रहेको तर यो संख्या अझै बढ्न सक्ने बताए ।
घाइतेको संख्या १५० भन्दा बढी रहेको बताइएको छ । जानकारी अनुसार भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी सहर खोस्तबाट ४४ किलोमिटर टाढा थियो । अफगानिस्तान, पाकिस्तान र भारतमा भूकम्पको धक्का महसुस गरियो ।
भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस गरिएको थियो । तालिबानका प्रवक्ता बिलाल करीमीले ट्वीटमार्फत भूकम्पमा सयौं मानिसको मृत्यु भएको जानकारी दिएका छन् । करीमीले प्रभावित जिल्लाको नाम भने खुलाएनन् ।
Notable quake, preliminary info: M 6.1 – 44 km SW of Khōst, Afghanistan https://t.co/4ORKfdDXIR
— USGS Earthquakes (@USGS_Quakes) June 21, 2022
स्थानीय समय अनुसार राती १ः३० बजे भूकम्प गएको थियो । अफगानिस्तानको पक्तिका प्रान्तका साथै खोस्त, गजनी, लोगर, काबुल, जलालाबाद र लगमानमा पनि भूकम्पको धक्का पुग्यो ।
अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पलाई ७.१ रेक्टर स्केलमा मापन गरिएको छ । भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिण–पश्चिम दिशामा रहेको थियो ।
अफगानिस्तानको ग्रामीण क्षेत्रका अधिकांश घरहरू माटोले बनेका छन्, जसले भूकम्पको धक्का सहन सक्दैनन् । सोही कारण त्यहाँ बढी क्षति हुने गरेको छ ।