काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार महानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार अनुमानित बजेट तथा कार्यक्रम तयार पारेको हो । आगामी आर्थिक वर्षको बजेट विनियोजनबारे जानकारी गराउँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गर्नुभयो ।

उहाँका अनुसार बजेटअन्तर्गत महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार, सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी, स्थानीय सञ्चित कोष बाहेकको बजेटमा समावेश हुने कुल तीन अर्ब पाँच करोड एक लाख ४७ हजार गरी कुल आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याइएको छ ।

उहाँले स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि चार अर्ब ६८ करोड ९८ लाख ६० हजार र पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब आठ करोड ८९ लाख तीन हजार बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो ।

उपप्रमुख डंगोलले सामाजिक विकास क्षेत्रको लागि एक अर्ब ६२ करोड २८ लाख २२ हजार सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि चार अर्ब ४६ करोड ५८ लाख ४० हजार बजेट विनियोजन गरेको बताउनुभयो ।

उहाँले नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ एक अर्ब ३१ करोड ३७ लाख छ हजारको श्रोत सुनिश्चित भएको पनि जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु