धनगढी । कैलालीको गोदावरीमा अनौठो अपराध भएको छ । भीम दत्त राजमार्ग अन्तर्गत गोदावरीमा गाडीधनीलाई कुटपिट गरी एउटा निजी गाडी नै लुटिएको छ ।

डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर उहाँको गाडी अपरिचित व्यक्तिले लुटेको बुझिएको छ ।

महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडि लगेको भण्डारीले बताउनुभयो ।

‘महेन्द्रनगरबाट सँगै ल्याएको थिएँ, यहाँ रोकेर फोटो खिचौं भने,’ भण्डारीले भन्नुभयो, ‘गाडि रोकेपछि ३ जनाले हातमुख बाँधेर ढुंगाले हानेर गाडि उतै फर्काएर लगे ।’

हात पछाडी बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियो ।

घाइते भण्डारीको पद्या अस्पतालमा उपचार भइरहेको र लुटिएको गाडि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु