युवराज विष्ट, भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भएकाले खुसार्नी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । विषेश गरेर भोजपुरको पौवादुङमा गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ ।

गएको वर्ष यसै याममा यस गाउँपालिकामा खुसार्नी विक्रीबाट रु छ करोड ५० लाखभन्दा बढी रकम भित्रिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकाको निकै राम्रो आम्दानीको स्रोतका रुपमा अकबरेलाई लिएका छौँ । गएको याममा गाउँपालिकामा रु छ करोड ५० लाख रकम खुसार्नी बिक्रीबाट भित्रिएको छ ।”

गत वर्ष तीन रोपनीमा खेती हुँदै आएकामा त्यसमा वृद्धि गरेर अहिले चार हजार पाँच रोपनी जमिनमा अकबरे खुसार्नीको खेती भइरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । खुसार्नी खेती गर्न इच्छुक कृषकलाई गाउँपालिकाले अनुदानसँगै प्राविधिक सहयोगसमेत गर्दै आएको छ । गाउँपालिकामा गएको याममा तीन लाख ५० हजार किलोग्राम हारहारीमा खुसार्नी उत्पादन भएको गाउँपालिकाको भनाइ थियो । खोर्सानी खेती विस्तार भएकाले यस वर्ष उत्पादनमा अझ वृद्धि हुने शाखा प्रमुख राईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले यहाँ खुसार्नीको पकेट क्षेत्र नै छुट्याएर खेतीमा लगानी गरेका छौँ । गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि कृषकमा थप उत्साह थपिएको छ । यो याममा एक हजार ५०० बढी क्षेत्रमा थप विस्तार गरिएकोे छ । विगतको याममा भन्दा यस वर्ष उत्पादनमा समेत वृद्धि हुने देखिन्छ ।”गाउँपालिकाभित्रका १५० बढी कृषकले यसको व्यावसायिक खेती गर्दै आएका छन् । आलो खुसार्नी उत्पादनको सुरुको चरणमा रु ३५० देखि ४०० सम्म र धेरै उत्पादन भएपछि रु १५० देखि २५० सम्ममा बिक्री हुने स्थानीय कृषकहरुको भनाइ छ ।

किसानले उत्पादन गरेको खुसार्नी ठेकेदारले घरमै आएर लैजाने गरेका छन् । यहाँको खुर्सानी, धरान, विराटनगर, झापा, काठमाडाँैलगायत ठाउँमा जाने गरेको छ । गाउँपालिकाले कृषिमा प्रोत्साहनमूलक कार्यक्रम ल्याएपछि खेती विस्तारमा ऊर्जा मिलेको कृषक निराजन श्रेष्ठले बताउनुभयो ।उहाँले भन्नुभयो, “खुसार्नी खेतीबाट राम्रो आम्दानी गरिरहेको छु । उत्पादन भएको खुसार्नी किन्न ठेकेदार घरमै आउँछन् । पछिल्लो समय अलि खुसार्नीमा जरा कुहिने रोगले सताएको छ । गाउँपालिकाको तर्फबाट राम्रो प्राविधिक सहयोग पाएका छौँ ।”

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

गाउँपालिका खुसार्नी, अण्डा तथा तरकारीमा आत्मनिर्भर रहेको गाउँपालिकाले जनाएको छ । कृषिबाट नै कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्यले यस क्षेत्रमा लगानी बढाइएको गाउँपालिकाको भनाइ थियो । छवटा वडा रहेको गाउँपालिकाको भौगोलिक बनावट अनुसार छुट्याएर माटो र हावापानी सुदाउँदो खेती लगाउनका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “हामीले दूरदर्शी योजनाका साथ कृषिसँगै भौतिक तथा शैक्षिक क्षेत्रमा लगानी गरिरहेका छौँ । हामीले यहाँको कुन ठाउँमा कस्तो बाली खेती गर्न सकिन्छ भनेर पकेट क्षेत्र निर्धारण गरेका छौँ । यसैका आधारमा लगानी गर्छौँ । अहिले आएर कृषकले निकै राम्रो आम्दानी लिँदै आएका छन् ।”

गाउँपालिकाले वडा नं ३ च्याङ्ग्रे ४ बास्तिम, ५ सानोदुम्मा, ६ ठुलोदुम्मामा अकबरे खुसार्नी, मौरीपालन र एभोकाडोको खेतीको पकेट क्षेत्र निर्धारण गरेको छ । त्यस्तै वडा नं २ तिवारी भञ्याङको सडकभन्दा माथिदेखि वडा नं १ श्यामशिलाको वडा कार्यालय मुनिको स्थानलाई आलु, बन्दाकोभी र काउलीको खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ काम गरिरहेको छ । वडा नं १ श्यामशिलाको माथिल्लो भेगमा किवी खेतीको पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले कृषिमा प्राथमिकताका साथ काम गरिरहेका छौँ । त्यसको परिणाम पनि देखिन थालेको छ । हालको गाउँपालिकाको राम्रो आम्दानीको स्रोतका रूपमा खुसार्नीलाई लिन सकिन्छ । कृषिका अन्य क्षेत्रमा पनि काम भइरहेको छ । श्यामशिला क्षेत्रमा गाउँपालिकाको आर्थिक सहयोगमा कृषकले व्यावसायिकरूपमा किवी खेती गरिरहेका छन् । किवीको बिक्रीबाट अबको केही वर्षमा राम्रो आम्दानी भित्रिन्छ ।”

यो क्षेत्रलाई हामीले किवी पकेट क्षेत्रका रूपमा विकास गरिरहेका छाँै । अहिले यहाँ दुई दर्जन बढी कृषकले किवीको व्यावसायिक खेती गरिरहेका छन् । कतिपय कृषकले लगाएको किवीले फलसमेत दिन थालेको छ । यहाँको ७१९ हेक्टर जमिन खुर्सानीको उत्पादनशील क्षेत्र रहेको कृषि ज्ञान केन्द्रले जनायो । अहिले ५९० हेक्टर क्षेत्रमा यसको खेती भइरहेको केन्द्रको भनाइ थियो ।

अकबरे खुर्सानीको फाइदा

अरु खुसार्नीका तुलनामा अकबरे खुर्सानीलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अकबरेले रगतमा चिनीको मात्रा घटाउनाका साथै यसले हाडजोर्नीलगायत दुखाइ पनि कम गर्ने स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।विभिन्न आकारका यो खुर्सानीले खाना रुचाउने स्थानीयवासीको भनाइ थियो । अकबरे खुसार्नी प्रयोग गरेर बनाइएको परिकारमा किटाणुको सङ्क्रमण कम हुन्छ । यसको सेवनबाट पिसाबको बिरामीलाई समेत फाइदा पुग्छ । यो खुर्सानीको आचार बनाएर पनि प्रयोग गर्न सकिन्छ । दैनिक जनजीवनमा उपयोगी रहे पनि पछिल्लो समय यसको रैथाने बीउ जात भने लोप हुन थालेको स्थानीयवासीको भनाइ थियो । ठूलो गोलो लाम्चो (मिठो बास्ना आउने) जातको अकबरे निकै पिरो र सबैले मन पराउने जात हो ।
नियमित सेवन गर्दा मोटोपना घटाउन मद्दत गर्ने अकबरेमा क्याप्सिसीन पाइन्छ । यसबाट पेटसम्बन्धी मात्र होइन अन्य रोगीलाई समेत फाइदा हुनाका साथै पेटमा हुने ग्यास्ट्रिक तथा अल्सरजस्ता रोग पनि निको हुने सम्बद्ध विज्ञले बताए । (रासस)

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु