काठमाडौं । भोलि सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गरी असार १५ गते सार्वजनिक बिदा दिइएको जनाएको छ ।

प्रदेश सरकारको गत चैत २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिदा दिइएको कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपाने जानकारी दिनुभयो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

दहीच्युराको संस्कृतिलाई निरन्तरता दिने दिन असार १५
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् ।

यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।

यस्ता शुभकाममा निस्कनुअघि रातो टीकासँगै सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ ।

आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाइएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दहीच्युरा खाएमा औषधिको काम गर्छ । यसैले दहीच्युरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत्रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा दहीच्युरा खाने पर्वका साथै राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

धान दिवस

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ । औपचारिकरूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नुअघि नै नेपालमा असार १५ गते दहीच्युरा खाने संस्कृति प्राचीनकालदेखि नै रहिआएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु