विराटनगर । अविरल वर्षापछि देशभर बाढीले वितण्डा मच्याएको छ । पूर्वका विभिन्न नदीमा आएको बाढीले मोरङमा एक जनाको मृत्यु भएको छ । दुई हजारभन्दा बढी घर डुबाउँदा सयौं सर्वसाधारण विस्थापित भएका छन् ।

मोरङको गछिया खोलामा आएको बाढीले बगाएर सुन्दर हरैंचा–६ का ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हो । खोला तर्ने क्रममा उहाँलाई बाढीले बगाएर तीन किलोमिटर तल पुर्‍याएको थियो ।

बाढीले मोरङमा मात्रै करिब १५ सय जना प्रभावित भएका छन् । सिंघिया र केसलिया खोलामा तटबन्ध नहुँदा विराटनगरवासी हरेक वर्ष डुबानमा पर्दै आएका छन् ।

झापामा हजारभन्दा बढी घर डुबानमा परेका छन् । अविरल वर्षाले सप्तकोसी नदीमा जलस्तर बढेपछि कोसी ब्यारेजसँगै सुनसरी, सप्तरी र उदयपुरमा सतर्कता अपनाइएको छ । उदयपुरमा बाढीले सडक बगाउँदा यातायात अवरुद्ध भएको छ ।

विराटनगरको बजार क्षेत्रबाट पूर्वमा बग्ने सिंघिया र पश्चिममा बग्ने केसलिया खोलाको तटबन्ध गर्ने नवनिर्वाचित महानगर प्रमुख नागेश कोइराला र प्रतिस्पर्धी एमाले उम्मेदवार सागर थापाको मुख्य चुनावी मुद्दा थियो ।

अघिल्ला प्रमुख भीम पराजुली र उहाँका प्रतिस्पर्धी एमालेका विनोद ढकालले पनि यी दुई खोलाको दीर्घकालीन तटबन्ध गर्ने भन्दै आसपासका बासिन्दाको भोट मागेका थिए । दुवै खोलाको बाढीले मंगलबार सयौं परिवार विस्थापित भएको प्रहरीको तथ्यांक छ ।

महानगरका वडा १, २, ४, ६, ७, ८, ११, १२, १६, १८ र १९ का बासिन्दा प्रभावित भएका छन् । सिंघियाको बाढीले विराटनगर–८ हाटखोलाको सुकुम्बासी बस्तीका २५ घर विस्थापित भएका छन् । उहाँहरूलाई सुरक्षित स्थानमा सारिएको मोरङका डीएसपी दीपक श्रेष्ठले बताउनुभयो ।

सिंघियाकै बाढीको जोखिममा रहेका महानगरको वडा २ का १५ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । छिमेकी कटहरी–१ को टाइगर टोल, हनुमान मन्दिर एरिया र जम्टोकीका १ सय ३० परिवार विस्थापित भएका छन् ।

सिंघिया खोलाको बाढी विराटनगर–२ को सरस्वती बस्तीमा पस्दा २० घर डुबानमा परेको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो । बाढीले उत्तरी मोरङमा पनि क्षति पुर्‍याएको छ ।

बाहुनीमा खहरे खोला पस्दा ८ घर डुबानमा परेका छन् भने बाढीले विराटनगर, कटहरी, बेलबारीका ७ सयभन्दा बढीले घर छाड्नुपरेको छ । यस्तै, बाढीको पानी पसेपछि बुढीगंगा–२ स्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ । कानेपोखरी, केराबारी, सुनवर्षी, पथरी–शनिश्चरे पनि बाढीले प्रभावित छन् ।

झापाका हजारभन्दा बढी घर डुबानमा परेका छन् । मेची, रतुवा, मावा, कमल, कन्काईलगायतका नदीमा आएको बाढीले घर डुबानसँगै दुई हजारभन्दा बढी परिवार विस्थापित भएका छन् ।

नदी किनारका सुकुम्बासी बस्ती प्रभावित छन् । प्रमुख जिल्ला अधिकारी छवि रिजालले अप्ठ्यारोमा परेका करिब ३ सय जनालाई सुरक्षित स्थलमा सारिएको बताउनुभयो । गौरादह, गौरीगन्ज, कमल, शिवसताक्षी, बाह्रदशी र भद्रपुरमा पनि बाढी बस्तीमा पसेको उहाँले जानकारी दिनुभयो ।

प्रहरीको सहयोगमा प्रभावितलाई उद्धार गरेर सुरक्षित स्थलमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह–६ तेलिया डाँगीमा रतुवा खोलाको बाढी पस्दा सयभन्दा बढी घर डुबानमा परेका छन् । भद्रपुरका विभिन्न वडामा मेचीको बाढीले असर पुर्‍याएको छ । शिवसताक्षीका ३ र ४ नम्बर वडामा कमल खोला पसेर ४० घर डुबानमा परेका छन् भने झापा–१ मिलनबस्तीका ९० घर डुबेका छन् ।

गौरीगन्ज–४ का १५ घर डुबानमा परेपछि प्रभावितलाई नजिकैको स्कुलमा सारिएको छ । बाह्रदशीको गौरीगाउँमा अदुवा खोलाको बाढी पस्दा ७ घरका ३३ जना विस्थापित भएका छन् । उहाँहरूलाई नजिकैको स्कुल र धर्मशालामा आश्रय दिएर राखिएको प्रहरीले जनाएको छ । झापा गाउँपालिकाका सितुमारी, मिलनबस्ती, सिर्जनाबस्ती, टप्पुबस्तीमा कन्काई नदीको बाढी पस्दा ३ सय ५० घर डुबानमा छन् ।

रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले वर्षा नरोकिएका कारण अझै क्षति बढ्न सक्ने बताउनुभयो । बाढी प्रभावितलाई रेडक्रस र विपद् व्यवस्थापन समितिले त्रिपाललगायतका खाद्यान्न उपलब्ध गराएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

निरन्तरको वर्षासँगै सप्तकोसी नदीको जलस्तर बढेको छ । मंगलबार दिउँसो ब्यारेजमा पानीको बहाव १ लाख २८ हजार २ सय २५ क्युसेक प्रतिसेकेन्ड थियो । ब्यारेजमा जलस्तर बढेपछि अपराह्न ४ बजे १९ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । सप्तकोसीमा पानी बढेपछि तटीय क्षेत्रमा सतर्कता बढाइएको छ । कोसीमा काठे डुंगा चलाउन, माछा मार्न र बाढीले ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले रोकेको छ । सर्दु, सेउती, सेहरा, सुनसरीजस्ता साना खोलामा पनि बाढी आएको छ तर क्षति घटना भने नभएको प्रजिअ यादवले बताउनुभयो ।

मदन भण्डारी राजमार्गको उदयपुर खण्ड विभिन्न स्थानमा अवरुद्ध भएको छ । गिदेरी र सिसुवा खोलाको बाढीले बेलका–४ र ९ का खेतीयोग्य जमिन कटान गरेको नगरप्रमुख अशोक कार्कीले बताउनुभयो । नदीको बहाव तपेश्वरीतर्फ जान सक्ने भएकाले रोकथाम गर्न सेनाले प्रयास थालेको उनको भनाइ छ । त्रियुगामा पनि बाढी आएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु