काठमाडौं । लुम्बिनी प्रेदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री (वली) ले राजीनामा नदिएको प्रष्ट पार्नुभएको छ ।

प्रदेश सरकारले वलीले राजीनामा दिएको कुरा बताइरहँदा उहाँले अझै पनि आफूले राजीनामा नदिएको बताउनु भएको हो । माओवादी नेता एकराज वस्नेताको घरभित्र पसेर श्रीमती र उनी नाबालिका छोरीलाई कुटपिट गरेको भन्दै वलीको आलोचना हुँदैछ ।

‘अमर्यादित’ काम गरेको आरोपमा राज्यमन्त्री विमलालाई पदबाट राजीनामा दिनुपर्ने दबाब थियो । बुधबार राज्यमन्त्रीको राजीनामाबारे संसद्लाई जानकारी दिदैँ मुख्यमन्त्री कुलप्रसाद केसीले राजीनामा स्वीकृत गरिएको जानकारी गराउनुभयो ।

तर विमलाले राजीनामा बुझाउन नमानेको बताइएको छ । स्रोतका अनुसार विमलाले आफूले राजीनामा नदिने र सरकार आफैंले कारबाही गरेर पदमुक्त गर्न भन्नु भएको हो ।

उहाँले मुख्यमन्त्रीलाई म राजीनामा दिन्नँ, तपाईंहरूले नै कारबाही गरेर पदबाट हटाउनुस् भनेर जवाफ दिनु भएको छ । मन्त्री वलीले आफूले मन्त्री पदबाट राजीनामा नदिने यदी दिनु परे सांसद र पार्टीबाट समेत राजीनामा दिने धम्की दिनुभयो ।

मन्त्री पदबाट राजीनामा दिन भनेपछि आफूले सांसद र पार्टीबाट पनि एकैपटक राजीनामा दिने कुरा बताएपछि राजीनामा माग्न आएकाहरु गएको उहाँको भनाई छ ।

आफूले कुनै पनि राजीनामापत्रमा हस्ताक्षर नगरेको उहाँले स्पष्ट पार्नुभयो । आफ्नो राजीनामाबारे कसरी कुरा बाहिर आयो भन्ने विषयमा आफू नै अनविज्ञ रहेको उहाँले बताउनुभयो । आजको नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु