खोटाङ । साउदी अरेबियमा कारको ठक्करबाट ज्यान गुमाएका मृतक परिवारले शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका छन् ।

साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राति ज्यान गुमाएका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय सोनिल राईको शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका हुन् ।

रेस्टुरेन्ट वर्करको रूपमा गत २६ माघमा अहमद नाजी फलेह अल डोसारी रेस्टुरेन्ट फर सर्भिङ मिल्समा पुगेका राईको सडक पार गर्नेक्रममा कारको ठक्करबाट मृत्यु भएको थियो ।

उनी मासिक एक हजार रियल पाउने गरी काठमाडौं एचआर सोलुसन प्रालिमार्फत साउदी अरेबिय पुगेका थिए । ड्युटीमा जानेक्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

तर मृत्यु भएको महिना दिन बितिसक्दा पनि शव स्वदेश फर्काउन ढिलाइ भएको श्रीमती जुनकला राई गुनासो गर्छिन् ।

पाँच वर्षकी छोरी र अढाइ वर्षका छोरासहित घर सम्हालेर बसिरहेकी जुनकला श्रीमानको शव आउन ढिलाइ भएपछि सोमबार काठमाडौं पुगेकी छन् । उनी हाल बच्चा च्यापेर आफन्तसँग मेनपावरको कार्यालय र वैदेशिक रोजगार बोर्डको सचिवालय धाइरहेकी छन् ।

मेनपावर कम्पनीले कागजात मिलिसकेकाले शव आउँछ भन्दै पटक(पटक ढाँटेको आफन्त हिराधन चाम्लिङले बताए । ‘हप्ता दिनपछि शव आउँछ भनेको पनि दुई-तीन हप्ता बितिसक्यो ।

आठ-नौ पटक मेनपावर धाइसक्यौं,’ राईले भने, ‘दूतावासले सहयोग गरिरहेकै छ तर मेनपावरले चासो दिइरहेको छैन । शव आइहाल्छ भन्दै पन्छाइरहेको छ ।’ विदेशबाट शव ल्याउन मेनपावर कम्पनी, वैदेशिक रोजगार बोर्डको सचिवालय र दूतावासको महत्वपूर्ण भूमिका रहन्छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

सम्बन्धित खबरहरु