काठमाडौं । सरुवा रोगको जोखिम बढेसँगै यसको रोकथामका लागि पूर्व तयारी थाल्न स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई निर्देशन दिएको छ ।

मनसुन सक्रिय भएसँगै प्राकृतिक विपद् र खानेपानी दूषित भइ हैजा जस्ता सङ्क्रामक रोग फैलिने जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले रोकथाममा जुट्न निर्देशन दिएको हो ।

मन्त्रालयले विज्ञप्ति निकालेर जनस्वास्थ्यमा पर्न सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आ–आफ्ना ठाउँबाट आवश्यक सावधानी लिन र तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

यस्तै, महामारी लगायतको प्रतिकार्यका लागि स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न, आवश्यकता अनुसार शय्याको व्यवस्थापन गर्न, औषधि उपकरणको तयारी गर्न अस्पतालहरुलाई भनिएको छ ।

यस्तै, स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) र प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (पीएचईओसी) सँग सवन्वय गर्न पनि भनिएको छ । अहिले हैजा, झाडापखालासँगै कोरोना भाइरसको सङ्क्रमणका बिरामी बढ्दै छन् ।

यस्ता सरुवा रोगबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । खाना खानुअघि र दिसा गरेपछि साबुन पानीले हात धुन तथा मास्क लगाएर मात्र हिँडडुल गर्न मन्त्रालयको आग्रह छ ।

आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ ।

सम्बन्धित खबरहरु