बहुसंख्यक संस्थापक शेयरधनी मारवाडी समुदायको रहेका दुई बाणिज्य बैंक एनआईसी एशिया  र सिद्दार्थ बैंकले एकैदिन दोस्रो त्रैमासको बित्तीय बिबरण प्रकाशित गरेकोमा केही रोचक तथ्यहरु सामुन्ने आएका छन् । सिद्दार्थ बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत बर्षको सोही अवधिको तुलनामा खुद नाफा झण्डै ३५ प्रतिशतले बढाएको छ भने एनआईसी एशियाको खुद नाफा झण्डै साढे ६ प्रतिशतले घटेको छ ।

 

एनआईसी एशियाको ब्याज आम्दानी ४.७९ र संचालन नाफा ८.६ प्रतिशतले घटी खुद नाफा गत आ. व को दोस्रो त्रैमासको तुलनामा साढे दुई करोडले कम भई ३६ करोड मात्र कमाउन सकेको छ । तर सिद्धार्थ बैंकले भने ब्याज आम्दानी १३.०६ र संचालन नाफा २४.५३ प्रतिशतले बढाएर खुद नाफा २४ करोडबाट साढे ३२ करोड पुर्याएको छ ।

एनआईसी एशियाको शुल्क, कमिशन, बिदेशी मुद्राको कारोबारमा आम्दानी बढाए पनि ब्याज आम्दानी र संचालन नाफा घटेकाले खुद नाफा घटेको देखिएको छ भने सिद्दार्थको शुल्क, कमिशन, विदेशी मुद्राको कारोबारमा त्यति धेरै प्रगति नभए पनि ब्याज आम्दानी र संचालन नाफा बढेकाले खुद नाफामा साढे आठ करोडको बढोत्तरी भएको देखिन्छ । सिद्दार्थ बैंकको गत बर्षको दोस्रो त्रैमास भन्दा यस बर्षको सोही त्रैमासमा जोखिम ब्यवस्थापन कोषमा प्रोभिजन घटेको छ भने जोखिम कोषबाट रकम फिर्ता दुई करोड ३२ लाख भएको छ । एनआईसी एशियाले भने १७ करोड ६८ लाख प्रोभिजन गरेर ८ करोड ५७ लाख फिर्ता ल्याई नाफामा देखाएको छ ।

नोटःरकमलाई करोडमा देखाईएको छ । 

सिद्दार्थको कर्मचारी खर्च १९ र संचालन खर्च १० प्रतिशतले बढेको छ भने एनआईसी एशियाको कर्मचारी खर्च २२ र संचालन खर्च १८ प्रतिशतले बढेको  छ ।

अर्कोतर्फ सिद्दार्थको जगेडा कोष ३९ प्रतिशतले बढेर एक अर्ब २९ करोड नाघेको छ भने एनआईसीको जगेडा कोष साढे २१ प्रतिशतले घटेर दुई अर्ब ५७ लाखमा झरेको छ ।

एनआईसी एशियाको प्रति शेयर आम्दानी २७ रुपैयाँ र सिद्दार्थको ३२ रुपैयाँ पुगेको छ । एनआईसी एशियाको शेयर मूल्य हाल ७०० र सिद्दार्थको ७०३ रुपैयाँ छ ।

एनआईसी एशियाले निस्क्रिय कर्जा २.९६ बाट २.४१ म झारेको छ भने सिद्दार्थले ३.५२ प्रतिशतबाट २.४७ मा झारेको छ । एनआईसीको निक्षेप लागत ६.४० बाट ५.०६ मा झरेको छ भने सिद्दार्थले ५.७४ बाट ४.७१ मा ल्याएको छ । सिद्दार्थको कर्जा र निक्षेपमा ब्याज दर अन्तर (स्प्रेड दर) ३.६८ प्रतिशत छ भने एनआईसीको ३.६३ प्रतिशत छ । पूँजी कोषको हिसावले हेर्दा सिद्दार्थको ११.६१ प्रतिशत र एनआईसीको १३.९१ प्रतिशत छ ।

पूँजी पर्याप्तता अनुपातलाई सहयोग गरी लगानी बिस्तारमा सहायक हुने बण्ड तथा डिबेन्चरको हिसावले हेर्दा एनआईसी एशियाको ५० करोड मात्र छ भने सिद्दार्थको एक अर्ब ३३ करोडको डिबेन्चर रहेको छ । एनआईसीको तरलता अनुपात २७ र सिद्दार्थको २५ प्रतिशत रहेकोमा लगानी बिस्तार गर्नसक्ने संभावना सिद्दार्थकै बढी रहेको मान्न सकिन्छ ।

नोटःरकमलाई करोडमा देखाईएको छ । 

 कमाई राम्रो हुँदै गएको र चुक्ता पूँजी राष्ट्र बैंकले तोकेको न्युनतम बिन्दु दुई अर्ब भन्दा तीन करोडले मात्र माथि रहेकोले सिद्दार्थले चालु बर्षको खुद नाफाबाट उल्लेखनीय बोनस शेयर दिनसक्ने संभावना छ । अर्को तर्फ सिद्दार्थको एउटा डिबेन्चर आगामी आर्थिक बर्षमा परिपक्व हुन लागेकोले त्यसको नाफासमेत जोड्दा लगानीकर्ताले आशा गर्ने ठाउं धेरै छ । सिद्दार्थले आफ्नो पूँजी पर्याप्तता बढाउन हालै पनि ५० करोडको एउटा डिबेन्चर जारी गरेको थियो ।

दुई अर्ब ६५ करोड चुक्ता पूँजी रहेको एनआईसी एशिया पाँच अर्ब चुक्ता पूँजी नघाएर ठूलो बाणिज्य बैंक बन्ने दौडमा गए त्यसले पनि बोनस शेयर र हकप्रद जारी गर्ने वा अरु साना बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई किन्ने अभियान चलाउन सक्छ । तर बैंक अफ एशियालाई आफुमा गाभेर निस्क्रिय कर्जा असुलीमा लागेको एनआईसी एशियाले तत्काल मर्जको संकेत भने देखाएको छैन ।

सम्बन्धित खबरहरु