काठमाडौं । भीषण वर्षाका कारण उदयपुर सदरमुकामस्थित गाईघाट बजारका दर्जनौँ घर र पसल डुबानमा परेका छन् ।

घर र पसल डुब्दा विभिन्न उपभोग्य सामान भिजेर नष्ट भएका छन् । गाईघाट बजारको असारी लाइन क्षेत्रका पसल सञ्चालक तीलक खड्काका अनुसार शुक्रबार साँझदेखि परेको भिषण वर्षाले पसल र घर डुबेका हुन् ।

पसल डुब्दा २० लाख रुपैयाँ बराबरको क्षति भएको उहाँले बताउनुभयो ।

गाईघाट बजारको शान्तिनगर टोल, ज्योति टोल, प्रतिभा टोल र पुरानो बसपार्क क्षेत्र तथा पिलचौक र सङ्गमटोलका अधिकांश घर र पसल डुबेको एक पसल सञ्चालक दीपक कार्कीले बताउनुभयो ।

स्थानीयवासीको घरभित्र पानी प्रवेश गर्दा घरका अधिकांश सामग्री नष्ट भएको छ ।

त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश विकले शुक्रबार बेलुकीदेखि आएको अविरल वर्षाका कारण बजार क्षेत्रका घर र पसल डुब्दा एक करोडभन्दा बढीको क्षति हुन पुगेको बताउनुभयो । आफूले बिहानैदेखि अनुगमन गरेको उहाँले जानकारी दिनुभयो ।

क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको उहाँको भनाइ थियो । नगरपालिकाका प्रमुख र उपप्रमुख वसन्त बस्नेत र महेश्वरी राईले बजार डुबानमा परेपछि गाईघाट बजारको क्षतिको बारेमा अध्ययन गरिरहेको बताउनुभयो ।

आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ । 

सम्बन्धित खबरहरु