काठमाडौं । पहाडी जिल्ला लमजुङका ७६ प्रतिशत खाने पानीमा इकोली अर्थात् दिसा मिसावट भएको पाइएको छ ।

जिल्लाका सात स्थानीय तहको खानेपानी आयोजना र ढुङ्गे धाराको खानेपानीमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा १२० स्थानको पानीको नमूना परीक्षण गरेकामा ९१ वटामा इकोली भेटिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ । परीक्षणमा जिल्लाका अधिकांश स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको छ ।’

यतिका प्रतिशतमा इकोली भेटिँदा यस जिल्लामा शुद्धपानी कमै नागरिकले मात्र प्रयोग गरिरहेको उनको भनाइ थियो । जिल्लाका आठ स्थानीय तहमध्ये दूधपोखरी गाउँपालिकामा भने परीक्षण गरिएको छैन ।

स्वास्थ्य कार्यालयकाअनुसार परीक्षण गरिएकामध्ये सुन्दरबजार नगरपालिकामा ३९ वटा नमूना परीक्षण गर्दा २७ अर्थात् ६९ प्रतिशत इकोली भेटिएको छ । बेँसीशहर नगरपालिकामा २९ वटा नमूना परीक्षण गर्दा २२ अर्थात् ७६ प्रतिशत पानीमा इकोली भेटिएको छ ।

मध्यनेपाल नगरपालिकामा खानेपानीको २२ वटा नमूना परीक्षण गर्दा २० अर्थात् ९१ प्रतिशत पानीमा इकोली भेटिएको छ ।

राइनास नगरपालिकामा आठवटा नमूना परीक्षण गर्दा ६ वटा अर्थात् ७५ प्रतिशत रहेको छ भने दोर्दी गाउँपालिकामा पाँचवटा नमूना परीक्षण गर्दा चार अर्थात् ८० प्रतिशतमा इकोली रहेको भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । मस्र्याङ्दी गाउँपालिकामा परीक्षण गरिएको दुईवटै नमूनामा शतप्रतिशत इकोली भेटिएको छ भने, क्वहोंलासोँथर गाउँपालिकामा १४ नमूना परीक्षण गर्दा १० वटा अर्थात् ७१ प्रतिशतमा इकोली भेटिएको छ ।

ती तथ्याङ्कको आधारमा यस जिल्लामा सरकारले शुद्ध खानेपानी नागरिकलाई उपलब्ध गराउनका लागि चुनौती थपिएको छ । एक घर एक धारा अभियान तीव्र रुपमा अघि बढिरहेपनि शुद्धपानी पुर्याउन भने सरकार असफल भइरहेको सरोकारवालाले बताए । स्वास्थ्य कार्यालयले वर्खा लाग्नुभन्दा अगाडि र वर्खाको सुरुवातमै सम्बन्धित उपभोक्ता समितिको समन्वयमा खानेपानीको नमूना सङ्कलन गरी परीक्षण गरेकोे कार्यालय प्रमुख दवाडीको भनाइ थियो ।

वर्खाको समयमा सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनाका साथै पानी शुद्धीकरण गरी पिउन उक्त कार्यालयले आग्रह गरेको छ । जिल्ला अस्पतालदेखि घलेगाउँ घरवास, ढोडेनी स्वास्थ्य चौकी, फेलनी स्वास्थ्य चौकी, विभिन्न खानेपानी आयोजना, कुँवा, उपभोक्ता समितिको धारालगायत पानी उमालेर मात्र पिउनुपर्ने स्वास्थ्य कार्यालयले जोड दिएको हो ।

उक्त कार्यालयले सार्वजनिक गरेको एकीकृत भेक्टर सर्भिलेन्सको नतिजाअनुसार राइनास, मध्यनेपाल र सुन्दरबजार नगरपालिकामा गरिएको परीक्षणमा तीन पालिकामा लामखुट्टेबाट विभिन्न प्रकोप फैलिन सक्ने देखिएको छ । तीमध्ये राइनास र सुन्दरबजारमा डेँगु, हात्तीपाइले रोग र कालाज्वारको प्रकोप फैलिनसक्ने देखिएको र मध्यनेपाल नगरपालिकामा भुसुनाजन्य रोग अर्थात् मलोरियाको प्रकोप फैलिने उच्च सम्भावन देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ । 

सम्बन्धित खबरहरु