काठमाडौं । बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो ।

सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरूपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिनुभयो ।

सङ्घीय सरकारको रु ६० लाखमा श्रीकृष्ण निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको छ ।

विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक निर्माण सुरु गरेको हो ।

नेपाली सेनाले उक्त सडक २०५७ देखि बनाउने जिम्मा पाएको थियो । सेनाको कार्यगणले २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो ।

पैसठ्ठी किलोमिटर दूरीको बेँसीसहर–चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ । बर्खायाममा उक्त सडक खण्ड अवरुद्ध हुने गरेको छ ।

गत वर्ष बाढीपहिराले एक महिनासम्म सडक अवरुद्ध भएको थियो । मनाङवासी हेलिकोप्टरको सहारामा बेँसीसहर हुँदै आ–आफ्नो गन्तव्यमा जाने गरेका थिए ।

यो पनि,

सम्बन्धित खबरहरु