काठमाडौं । फेसबुकमा युवती मार्फत साथी बनाएर तत्काल फोन नम्बर लिने र भेट्न बोलाउने ।

अनि, भेटेपछि जिस्क्याएको र दुव्र्यवहार गरेको आरोप लगाएर पैसाको बार्गेनिङ गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

युवती प्रयोग गरेर संगठित रुपमा ‘हनी ट्रयाप’को धन्दा चलाउने ६ जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताउनुभयो ।

क्राउ पर्नेमा काभ्रे घर भएकी १८ वर्षीया मनिषा परियार, भक्तपुर घर भएकी १९ वर्षीया निकिता केसी, खोटाङ घर भएका ३२ वर्षीय डिक बहादुर शर्मा, दोलखा घर भएका २५ वर्षीय निमा लामा, सुनसरी घर भएका ३० वर्षीय सन्जिव दर्जी र दोलखा घर भएका ३० वर्षीय पासाङ लामा छन् ।

डान्स बारका युवती परिचालन – निमा लामाले सोह्रखुट्टेमा ‘ब्लु बार’ नामको डान्स बार संचालन गरेका थिए । पछिल्लो समय रेष्टुरेण्ट चल्न छाड्यो । तर, उनलाई पैसा कमाउने महत्वाकांक्षाले छाडेन ।

अनि, उनले आफ्नै डान्समा काम गरेकी मनिषा र निकितालाई परिचालन गरेर ‘हनी ट्रयाप’ धन्दा चलाउन शुरु गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

अधवैशे उमेरका पुरुषलाई मनिषाले समाजिक सञ्जाल फेसबुक मार्फत साथी बनाउँथिन् । अनि, भेट्ने प्रस्ताव उनैले राखेपछि पुरुषहरु सहमत हुन्थे । गोदावरी, ठमेल र कोटेश्वर क्षेत्रमा पुरुषसँग भेट्थिन् ।

भेट्नासाथ उनले टाउको दुखेको बहाना बनाउँथिन् । एकान्तमा लैजान्थिन् । अस्वभाविक रुपमा नजिकिन्थिन् । अनि, पुरुषले सामान्य यौनिक व्यवहार प्रदर्शन गरेपछि उनी रिसाएर हिँड्थिन् ।

मनिषा परियार र हनी ट्रयापमा पारेर बोलाएको पुरुषलाई निमासहितका समूहले निगरानी गरिरहन्थे । युवती रिसाएर हिँडेपछि पुरुष पनि हिँड्छन् । अनि, उनलाई अरु पाँच जनाले पछ्याउँछन् । ‘पछ्याएर घर अथवा कार्यालय पत्ता लगाउँथे’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी कुँवर भन्छन्–‘त्यसपछि फोन गरेर बार्गेनिङ गर्ने र पैसा लिने गरेको अनुसन्धानबाट थाहा भएको छ ।’

पत्रकार र वकिल बनेर बार्गेनिङ – पुरुषलाई परिबन्दमा पारेपछि निकिता केसीले फोन गर्थिन्–‘पत्रकार हुँ, तपाईको घट्ना म पत्रिकामा निकाल्छु ।’ सञ्जीव दर्जी मनिषाको मामा बनेर ‘मेरी भान्जीलाई किन दुव्र्यहार गरेको ?’

भनेर फोन गर्थे । पिछा गरेर घर र अफिस पत्ता लगाएर उनीहरुको समूह कार्यालयमै पुग्थे । डिक बहादुर शर्मा आफूलाई वकिल बताउँथे । पीडितहरुका अनुसार डिकबहादुर भन्थे–‘घटना तत्काल मिलाउनुस् अन्यथा तपाईको जिवन जेलमा बित्छ ।’ डिक बहादुर शर्मा पूर्वलडाकु पनि हुन् ।

सो समूहले ‘बलात्कार’ मुद्दा लगाउँछौ भनेर मानसिक तनाब दिने गरेका थिए । हालसम्म उनीहरुले ४ जनालाई ब्ल्याकमेल गरेको अनुसन्धानबाट थाहा भएको एसएसपी कुँवरले जानकारी दिनुभयो । हनी ट्रयापका मुख्य योजनाकार ललितपुरको नख्खिपोटमा बस्छन् ।

निमाले चढ्ने बा.५ च ६८४६ नम्बरको कार प्रहरीले बरामद गरेको छ । आरोपीहरुलाई प्रहरीले ‘आपराधिक लाभ’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

 

सम्बन्धित खबरहरु