१७ माघ, काठमाडौ । सत्तारुढ घटक नेपाली काँग्रेस र एमालेले विपक्षी गठबन्धन सहमतिमा नआएपनि संविधान निर्माणको कार्यलाई अघि बढाउने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको दुई दलको बैठकले संविधानसभाको प्रस्ताव (प्रश्नावाली) निर्माण समितिमा विपक्षी सहभागी नभएपनि काम कारवाही भने अघि बढाउने निर्णय गरेका हुन् ।
यद्दपी बैठकले समितिमा आउन बिपक्षीहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।
प्रतिपक्षको अवरोधकाबीच समिति घोषणा गरेपछि एकीकृत माओवादी र मधेश केन्द्रीत दलका शीर्ष नेताहरुले सभाध्यक्ष नेम्वाङसंग पनि संवाद गरेका छैनन ।
समितिको पहिलो बैठकको तयारीबारे भएको छलफलमा समितिको कार्यविधि, उपसमिति गठन लगायतका प्रक्रियामा छलफल भएको एमाले उपाध्यक्ष बिद्यादेवी भण्डारीले जानकारी दिइन् ।
संविधानसभाबाट समिति गठन भएपनि बहुमतीय प्रक्रियाको विरोधमा रहेका एकीकृत माओवादी सहितका प्रतिपक्षी दलहरुले समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएका छैनन । ७३ सदस्यीय समितिमा प्रतिपक्ष बाहेकका ४९ सदस्य मात्र समावेश छन् ।