काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने दावी गर्नुभएको छ ।

विकासमा सर्वोच्च अदालतले समेत अवरोध गर्न नमिल्ने र आदेश दिएपनि कार्यपालिकाले विमानस्थल बनाउन सकिने बताउनुभएको हो ।

उहाँले सोमबार सम्पादकहरुसँगको छलफलमा वनको क्षति नगरी हाल विमानस्थल निर्माण गर्ने भनिएको क्षेत्रको दक्षिणतर्फ टाँगिया वस्ती हटाएर दुई हजार मिटर क्षेत्रफलमा विमानस्थल बनाउन सकिने स्पष्ट पार्नुभयो ।

‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, वनको क्षति नगरीकन नजिकको टाँगियावस्ती हटाउँदा र दक्षिणपट्टी बनाउँदाखेरि दुई हजार स्क्वायर मिटरमा बनाउँदा पुग्ने ठाउँमा ८ हजार मिटर लिनुपर्ने आवश्यकता पर्दैन’ उहाँले भन्नुभयो ।

विमानस्थल निर्माण गर्दा सरकारले अनावश्यक क्षेत्रफल लिनु, अनावश्यक ढंगले वन विनाश गर्नु र वातावरणमा जानीजानी दुष्प्रभाव पार्न नहुने भन्दै ओलीले अदालतले पनि विकास निर्माणमा हस्तक्षेप गर्न नहुने बताउनुभएको हो ।

‘विकास निर्माणमा अदालतले धेरै ठाउँमा अनावश्यक हस्तक्षेप गर्ने गरेको छ । त्यस्तो क्रियाकलाप पनि गर्नुहुदैन’ कार्यपालिकाले काम अघि बढाउनुपर्छ ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले धेरै वातावरणीय क्षति नगरी चाहिएजति जमिन लिएर विमानस्थल निर्माण गर्न सकिने स्पष्ट पार्नुभयो । ‘चाहिएजति जमिन लिने, त्यसमा धेरै क्षति पनि हुँदैन, त्यसलाई निर्माण गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।

निजगढ विमानस्थलका विषयमा सर्वोच्च अदालतले पर्याप्त अध्ययन नगरी फैसला गरेको ओलीको गुनासो थियो ।

 

सम्बन्धित खबरहरु