भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले बिरामीमैत्री वातावरणमा सेवा प्रवाह गर्न भक्तपुरका अस्पतालहरुलाई निर्देशन दिनुभएको छ ।

भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आज अवलोकन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

राज्यमन्त्री केसीले भक्तपुर क्यान्सर अस्पतालको अवलोकन गर्दै यस अस्पताललाई कम्तीमा ५०० शय्यामा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले क्यान्सरका बिरामी बढिरहेको अवस्थामा अस्पतालको शय्या र भवन निकै अभाव भएको पाइएको उल्लेख गर्दै यस अस्पताललाई ५०० शय्यामा विस्तार गर्न सके मात्रै आगामी २० वर्षसम्म सहज हुने बताउनुभयो ।

अस्पतालको स्तरवृद्धि गर्न आफूले पहल गर्ने भन्दै अस्पतालमा भवनको अभाव देखिएकाले यो समस्या समाधान गर्न सरकारका तर्फबाट आफूले आवश्यक भूमिका खेल्ने बताउनुभयो ।

सीमित स्रोतसाधनका बाबजुद पनि धेरै सेवा प्रदान गर्नु अस्पताल धन्यवादको पात्र भएको भन्दै मन्त्री केसीले कतिपय ठाउँमा चिकित्सकबाट र अस्पतालबाटै लापरबाही भएको सुनिरहँदा यहाँको सेवा प्रभावकारी भएको देख्दा खुसी लागेको बताउनुभयो ।

लामो समयदेखि क्यान्सर अस्पतालमा करारमा काम गर्ने कर्मचारीहरुको समस्याको समाधान गर्न आफू लाग्ने उहाँले बताउनुभयो । क्यान्सर अस्पतालका कर्मचारीहरुले लामो समयदेखि करारमा काम गर्न बाध्य भएको भन्दै अस्पतालको गठन आदेश परिमार्जन गर्न स्वास्थ्य राज्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी राज्यमन्त्री केसीले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको समेत अवलोकन गर्दैै डायलासिस गर्न र मिर्गौला प्रत्यारोपणमा पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

उहाँले मिर्गौलाको बिरामीले अहिले पनि सजिलैसँग डायलासिस गर्न नपाएर लामो समय पालो कुर्नुपर्ने बाध्यता रहेको र प्रत्यारोपणमा पनि लामो समय पालो कुर्नुपर्ने बाध्यता अब हटाउनुपर्ने बताउनुभयो । यसका लागि आफूले आवश्यक पहल गर्ने बताउँदै बिरामीलाई कुनै पनि दुःख नदिन उहाँले निर्देशन दिनुभयो ।

बिरामीले अहिले पनि शय्या नपाएर मर्कामा परिरहेको आफूले जानकारी पाएको भन्दै उहाँले त्यो समस्या समाधान गर्न आफूले के गर्नुपर्छ तयार रहेको पनि बताउनुभयो । अनुगमनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्मालगायतको टोलीको सहभागिता रहेको थियो । (रासस)

 

सम्बन्धित खबरहरु