काठमाडौं । सुनसरीको जिल्ला नेता, कार्यकर्ता भेलाका लागि धरान पुग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले धरान उपमहानगरका प्रमुख हर्क साम्पाङसँग भेटवार्ता गर्नुभएको छ ।

उहाँहरुबीच उपमहानगर प्रमुखको कार्यालयमा आज बिहान भेट भएको हो। स्वतन्त्र पार्टीका नेता दीपक बोहराले सम्पाङ र लामिछानेबीच भेट भएको तस्वीर सामाजिक सञ्जालमा राख्दै भेटवार्ता भएको पुष्टि गर्नुभएको छ ।

लामिछानेलाई उद्धृत गर्दै बोहराले फेसबुकमा लेख्नुभएको छ, ‘तपाईंलाई भेटेरै शुभकामना दिन आएको। खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो, तर सकिएछ। जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला। सहकार्य जारी रहनेछ हात मिलाउँदै रविले हर्कलाई भनेका शब्द उहाँले लेख्नुभएको छ ।’

सार्वजनिक फोटोमा दुबैजनाले एकै खाले नेपाली लुगा लगाउनुभएको छ । विहिबार मात्रै लामिछानेले नेपालमा बनेका लुगाहरु मात्रै लगाउने घोषणा गर्नुभएको थियो ।

विहिबार झापामा आयोजित पार्टीको जिल्ला भेलामा उहाँले नेपालकै उत्पादनलाई प्राथमिकता दिने भन्दै बिदेशी पोशाक नलगाउने बताउनुभएको थियो ।

आज साम्पाङ र लामिछानेले लगाएको तलदेखि माथिसम्मको पोशाक पनि नेपाली उत्पादन हो। सधै साधारण र समान्य पोशाकमा देखिने साम्पाङ हरेक शुक्रबार दौरा सुरुवाल र टोपी लगाएर कार्यालय जाने गर्नुहुन्छ ।

संयोगले रविलेपनि त्यस्तै पोशाक लगाउनुभएको थियो । उहाँसँगको भेटमा लामिछाने भादगाउँले टोपी, आस्कोटसहितको पहिरनमा देखिनुभएको छ ।

 

सम्बन्धित खबरहरु