काठमाडौं । प्रश्न पत्रमा त्रिभुवन विश्वविद्यालयले गम्भीर त्रुटीहरु गर्दै आएको छ ।

उसले यसअघि विभिन्न तहका परीक्षाको प्रश्नपत्रमा गत बर्ष सोधिएका हुबहु प्रश्नहरु सोधेर चकित बनाएको थियो ।

यो विषय नेपाली संसदको संसदीय समितिमा समेत उठ्यो । त्रुटी गर्ने प्राध्यापकहरुलाई कारबाही भयो ।

तर आज मात्र फेरी स्नातक तह दोस्रो बर्षको नेपाली विषयको परीक्षामा अर्को गम्भीर त्रुटी गरेको छ । प्रश्नपत्रको एक नम्बरमा नै तलका दुबै प्रश्नको उत्तर दिनुहोस् भनिएको छ ।

प्रश्नपत्रको (क) मा तलको अनुच्छेदमा रेखाङ्कित शब्दको अक्षरीकरण र अक्षर संख्याङ्कन समेत गर्नुहोस् । भनिएको छ । तर अनुच्छेद नै छैन । विद्यार्थीले अनिवार्य भनिएको प्रश्न छोड्न बाध्य भएका छन् । यो त्रिविको गम्भीर त्रुटी हो ।

टीयुको अकर्मण्यता : पटक-पटक दोहोरिरहन्छ प्रश्नपत्र, कारबाही गरिँदैन

त्रिभुवन विश्वविद्यालय (टियु) ले तयार पार्ने प्रश्नपत्रमाथि प्रत्येक वर्ष प्रश्न उठ्ने गरेको छ। कहिले गत वर्षका प्रश्नहरु हुबहु सोधेर त कहिले प्रोफेसरहरुले पढाएको सेटबाट जस्ताको त्यस्तै प्रश्नहरु राखेको भन्दै टियु आलोचित बन्दै आएको छ। प्रत्येक वर्ष प्रश्न तेर्सिए पनि टियुले त्यसको जवाफ कहिल्यै दिँदैन। भन्छ मात्रै, ‘त्रुटि छ, यस विषयमा छानबिन हुन्छ।’

टियुको गत बुधबार मानविकी संकायले स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’को परीक्षा लियो। विद्यार्थीहरु परीक्षा हलमा बसे। तोकिएको समयअनुसार प्रश्नको हल पनि गरे। तर, पछि थाह भयो ती प्रश्नहरु गत वर्षकै दोहिरिएको रहेछन्। ६० पूर्णाकंको सो विषयको परीक्षामा १३ वटा प्रश्न सबै गत वर्षमा नै सोधिएका प्रश्नपत्रसँग हुबहु मिलेका छन्। प्रश्नपत्रको निष्पक्षतामाथि पटक–पटक प्रश्न उठिरहन्छ। तैपनि टियु यस विषयमा संवेदनशिल बन्दैन।

मानवीकी शंकायका डीन डा. कुसुम शाक्य, सहायक डीन डा. ताराप्रसाद भुषाल र अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख डा. शिव अधिकारीमाथि विद्यार्थीले प्रश्न तेर्साएका छन्। उनीहरुको माग छ, ‘पदाधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। नत्र हामी तालाबन्दीलाई निरन्तरता दिन्छौं।’

नियमतः विभागीय प्रमुख विषय समितिको प्रमुख हुने व्यवस्था छ। विभागीय प्रमुख अधिकारीकै विषय ‘पब्लिक इकोनोमिक्स’को प्रश्नपत्र बाहिरिएको एक विद्यार्थीले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘यो ठूलो अपराध हो। उहाँको निष्पक्षतामाथि प्रश्न उठेको छ।’

टियुका पदाधिकारीले पटक–पटक प्रश्नपत्रमाथि शंका उत्पन्न हुने कार्य गर्दा पनि टियु कार्यकारी परिषद्ले न छानबिन गर्छ, न दोषीलाई कारबाही ।

त्यस्तै, सहायक डीन परीक्षा समिति प्रमुख रहने प्रावधान छ। तर सहायक डीन पनि यस विषयमा उत्तर दिन चाहानुहुन्न ।

अहिले टियुमा अधिकांश कर्मचारी शिक्षक करारमा छन्। अद्यावधिक तथ्यांक अनुसार टियुमा सात हजार नौ सय ६६ जना शिक्षकका रुपमा कार्यरत रहेका छन् भने सात हजार दुई सय ३० जना कर्मचारीका रुपमा कार्यरत छन्। अधिकांश करार र आंशिकका रुपमा कार्यरत छन्।

आंशिक, करार र स्थायी प्राध्यापकहरुसमेत निजी शिक्षण संस्थामा धाउँदा पनि प्रश्नपत्रमा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ जोडिने गरेको सम्बद्ध निकायहरु बताउँछन्।

सम्बन्धित खबरहरु