काठमाडौं । विश्वमा हरेक दिन नयाँ र अनौठो कुराहरु भइरहेका हुन्छन् ।

यसबीच प्रकृतिलाई खुःशी बनाउनका लागि पनि दुनियाँमा अनेक संस्कार रहेका छन् । केही समय पहिले आकाशबाट पानी पार्नका लागि एक मेयरले गोहीसँग बिहे गरेको खबर आएको थियो ।

मेक्सिकोको ओक्साका सहरको सानो गाउँका मेयरले गोहीलाई आफ्नो जीवनसाथी बनाएका थिए । उनले विवाहपछि दुलही अर्थात् गोहीलाई चुम्बन गरेको तस्वीर र भिडियो खुब भाइरल भयो ।

यसबीच हाम्रो नेपालमा पनि सबैलाई चकित पार्ने घटना भएको छ । लामो समयसम्म वर्षा नभएपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले एक रोचक दृश्य देखाएका हुन् ।

गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुलाई बाँधेर वर्षा र सहकालका देवता मानिने इन्द्रको पूजा गरिएको हो । लामो समय भैसक्दा पनि पानी नपरेपछि खेतमा रोपेको धान सुक्न थालेको छ ।

किसानले क्षमापूजासहित पानी पारिदिन भन्दै इन्द्रको पूजा गरेका हुन् । यो प्रचलन पहिलेदेखि नै रहँदै आएको बताइन्छ ।

सोही मान्यताअनुसार स्थानीयले सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीसहित जनप्रतिनिधिलाई बाँधेर पूजा गर्ने र पानी छ्याप्ने गरेका हुन् ।

गाउँका अगुवाले स्वच्छ मनले पूजा गर्ने र दक्षिणा दान गरेपछि पानी पर्ने धार्मिक मान्यता रहेको छ । यही मान्यतालाई स्वीकादै गाउँपालिक अध्यक्ष र वडाअध्यक्षहरु बाँधिन तयार हुनुभएको थियो ।

 

सम्बन्धित खबरहरु