काठमाडौं । भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको सुर्वण थापा निर्देशित फिल्म ‘दि सिक्रेट्स अफ राधा’ को पहिलो गीत सार्वजनिक भएको छ ।

हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै सोमवार सार्वजनिक गरिएको तीज गीत ‘पाउमा पाउजु’मा सज्जा चौलागाईं र स्वस्तिमा ढकालको आवाज रहेको छ भने कालीप्रसाद बाँस्कोटाको संगीत र सृजना खत्रीको शब्द रचना छ ।

कविराज गहतराजले कोरियोग्राफी, सञ्जय लामाको छायांकन र विपिन मल्लको सम्पादन रहेको गीतको भिडियोमा अभिनेत्री द्वय सृष्टि श्रेष्ठ र प्रियंका कार्की छमछमी नाच्दै देखिएका छन् ।

फिल्ममा सृष्टिको मुख्य भूमिका छ भने प्रियंकाले गीतमा मात्र नृत्य गरेकी हुन् । सोमवार राजधानीमा आयोजित कार्यक्रममा सुर्वण थापाले गीतलाई फिल्ममा कथावाचनको रुपमा राखिएको बताए ।

फिल्ममा सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

फिल्ममा बरिष्ठ रंगकर्मी सुनिल पोखरेल अतिथी भूमिकामा प्रस्तुत छन् । निर्देशक थापाले अभिनेता सौगात मल्लसँग सहकार्य गरेर फिल्मको निर्माण गरेका हुन् ।

आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह-निर्माता रहेको फिल्ममा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । यो फिल्म आफ्नी आमाको सम्झनामा बनाएको सुवर्णको भनाई छ ।

सम्बन्धित खबरहरु