काठमाडौं । लाखौँ विद्यार्थी प्रतिक्षरत माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक अझै ढिला हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले असार अन्तिम हप्ता नतिजा सार्वजनिक गर्ने बताए पनि फेरि भाखा फेरेको छ ।

साउन पहिलो हप्तासम्म नतिजा दिन नसकेक बोर्डले साउनको दोस्रो साताको अन्त्यतिर सार्वजनिक हुनसक्ने भनेको छ ।

माध्यमिक शिक्षा परीक्षाका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले साउन १० गतेभित्र नतिजा प्रकाशन गर्ने बताउनुभयो ।

‘अहिले हामी विद्यार्थीको नतिजालाई फिनिसिङ गर्ने काम गरिरहेका छौं’ उहाँले भन्नुभयो, अब साउनको १० गतेभन्दा पछि जाँदैन ।

बोर्डले ३० वैशाखको स्थानीय तह निर्वाचनमा शिक्षक र कर्मचारी व्यस्त हुँदा उत्तरपुस्तिका परीक्षणमा १० दिन ढिला भएको बताएको छ ।

बोर्डले यो वर्ष प्रदेशस्तरमा परीक्षा समिति बनाएर परीक्षा सञ्चालन, अनुगमन, निरीक्षण, परीक्षा केन्द्रको मापदण्ड निर्धारण, उत्तरपुस्तिका संकलन, परीक्षण र अंक चढाउने काम समेत गरेको थियो ।

त्यही अनुसार विद्यार्थीको प्राप्तांकलाई परीक्षा नियन्त्रण कार्यालयले रुजु गरेर नतिजा प्रकाशनको तयारी गरेको हो ।

प्रदेशबाट विद्यार्थीको प्राप्ताङ्क अपडेट गर्नको लागि सफ्टवेयर जडान हुन नसकेकोले केन्द्रबाटै अपडेट गर्नुपर्ने भएकोले नतिजा सार्वजनिक गर्न ढिला भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले स्पष्टिकरण दिनुभयो । यो बर्ष कोभिडको असर बाहेक अहिलेसम्मकै ढिलाई हो ।

विविध प्राविधिक कारणले ढिलाइ भइरहेको छ । हामीले विद्यार्थीलाई ढाँट्न खोजेका होइनौं । अब दोस्रो हप्ता कट्दैन उहाँले भन्नुभयो ।’

अध्यक्ष महाश्रम शर्माले एकीकृत र प्रदेशगत दुबै तरिकाले नतिजा सार्वजनिक हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘एकीकृत पनि हुन्छ र प्रदेशगत पनि नतिजा सार्वजनिक गर्ने हाम्रो तयारी छ । प्राविधिक समस्या नहुने हो भने दुबै तरिकाबाट हुन्छ ।’

२०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसईईको परीक्षामा सहभागी करिब चार लाख विद्यार्थी नतिजाको पर्खाइमा छन् ।

 

सम्बन्धित खबरहरु