काठमाडौं । विचारले प्रजातान्त्रिक, पेशाले पत्रकार, जमानामा निक्कै पढ्नुभएको र वौद्धिक व्यक्तित्वको परिचय बोक्नुभएका कृष्ण आचार्यले आज एउटा तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्नुभयो ।

सामाजिक सञ्जालमा पोष्ट भएकाले त्यो तस्वीर र लेखिएका शब्द देख्ने र पढ्ने जो कोहीको ध्यान तान्यो ।

तस्वीर मुलुकको मुख्य प्रशासनीक केन्द्र सिंहदरबारको हो । जहाँ प्रधानमन्त्रीदेखि ठूला केन्द्रीय अड्डामा पुगेका ठूला व्यक्तिहरुले कामकाज गर्ने कार्यालय छन् ।

तस्वीरमा सिंहदरबारको मुल गेटमा यत्रतत्र छरिएर बसेका भुस्याहा कुकुरहरु देख्न सकिन्छ । सोही तस्वीरमा क्याप्सन लेखिएको छ ।

भित्रपट्टी लुगा ला"का कुकुरको रजाइँ ,बाहिर नाङ्गाहरुको बिगबिगी ।अलिक बढी भो कि क्या हो ! दृश्यले यस्तै कहन्छ। आsss ज्यामन्तै होस् !

साधारण व्यक्तिले लेखेको भए यो त्यति महत्व राख्दैन थियो होला । तर राज्यले प्रेस स्वतन्त्रता सेनानीको उपाधि दिइसकेका व्यक्तित्वको पोष्ट हो । कृष्ण आचार्य वरिष्ठ तथा ज्येष्ठ पत्रकार भनेर परिचित हुनुहुन्छ । लोकतन्त्र र प्रजातन्त्रको स्थापनाका लागि उहाँको कलमको योगदान छ ।

राजधानी काठमाडौं, झापा लगायतका प्रमुख स्थानमा केन्द्रीत भएर मुलधारका सञ्चार माध्यममा काम गर्दै अहिले आफ्नै गृह जिल्ला खोटाङमा बसेर निरन्तर पत्रकारिता गरिरहनुभएको छ ।

यत्तिको पाकेको, योग्यतम् व्यक्तिको पोष्टले के बुझाउँछ भने पक्कै नागरिक सरकारसँग वितृष्णामा छन् । तर सत्तामा पुगेकाहरु कुकुर नै भइसकेका हुन् त ? संगीत प्रश्न भने उठेको छ । यति चै भन्न सकिन्छ उहाँले अधिकांश नागरिकको प्रतिनिधित्व जनाउँन सक्नुहुन्छ ।

किनकी नागरिक भनेको अगुवाको परावर्तन हो । उहाँकै परावर्तन नागरिक हो भन्न सकिन्छ । यस्ता अभिव्यक्तिले राजनीतिक दलका नेता र कर्मचारी तन्त्रमा रहेका राष्ट्र सेवकहरुप्रति नागरिकको उच्च वितृष्णा छ भन्ने बुझ्न जरुरी छ । अबपनि नसच्चिने हो भने, नागरिकको रिसको आगो नदन्किएला भन्नपनि सकिन्न ।

आज हामीले जनबोलीको रुपमा सामाजिक सञ्जालबाट कृष्ण आचार्यका शब्द र सामाजिक सञ्जालमा नै भेटिएको तस्वीर प्रस्तुत गरेका छौ । यो विचार र तस्वीरमा तपाई के भन्न चाहानुहुन्छ आफ्नो प्रतिक्रिया प्रस्तुत गरेर आजको जनबोलीमा सहभागी बन्न सक्नुहुन्छ । भोलि फेरी अर्को जनबोली यसरी नै टिप्नेछौ । प्रतिक्षा गर्नुहोला ।

सम्बन्धित खबरहरु