काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशी–विदेशी प्रतिक्रियावादीहरूले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दाबी गर्नुभएको छ ।

अध्यक्ष ओलीले मजदुर वर्गपक्षीय विचारका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिले नै गराएको उल्लेख गर्नुभयो ।

मजदुर वर्गपक्षीय शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको र त्यसैको परिणामस्वरूप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन भएको उहाँको तर्क थियो ।

शनिबारबाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिले जहिले पनि मजदुर वर्ग र उनीहरूको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको जिकिर गर्नुभयो ।

ओलीले मजदुर वर्गको हितका लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि पटकपटक दोहोर्‍याउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो,‘ मजदुर वर्गपक्षीय विचारका संवाहक शक्ति, ती हितका संवाहक शक्ति, तिनीहरूलाई प्रतिक्रियावादी शक्तिहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै विभाजित गर्न खोज्दछन् । आज हाम्रो देशमा तथाकथित जुन गठबन्धन भन्ने देखा पर्‍यो । यो गठबन्धन के हो ?

यो गठबन्धन, यस्ता गठबन्धन, हाम्रो पार्टी जसरी गत वर्ष विभाजन गराइयो, गरियो । यही अहिले मैले भनेका मजदुर वर्गपक्षीय विचारहरु, मजदुर वर्ग पक्षीय हितहरु, मजदुर पक्षीय संगठनहरु, संस्थाहरु, मजदुर वर्ग पक्षीय आन्दोलनहरु, तीनलाई कमजोर पार्ने प्रयासहरु । किनभने अन्तिममा समृद्ध नेपालः सुःखी नेपालीको गन्तव्य कसको हो त ?’

 

सम्बन्धित खबरहरु