काठमाडौं । रुखबाट लडेर ‘स्पाइनल इन्जुरी’ (मेरुदण्डको चोट) भएकी शुक्लाफाँटा नगरपालिका–५ खजुवाका ५१ वर्षीय मनोरीदेवी साउद उपचारका अभावमा आठ महिनादेखि ओछयान पर्नुभएको छ ।

गत पुस १७ गते गाईगोरुका लागि स्याउला काट्ने क्रममा रुखबाट लडेर उहाँलाई ‘स्पाइनल इन्जुरी’ भएको हो । परिवारजनले धेरै ठाउँमा उपचार गराए पनि उहाँ ठीक हुन सक्नुभएको छैन ।

“काठमाडौँदेखि भारतको नयाँ दिल्लीसम्म उपचारका लागि पु¥याए पनि ठीक हुन सकेको छैन”, मनोरीका श्रीमान् नरेन्द्रले भन्नुभयो, “विस्तारमै खाना खुवाउनेदेखि दिसापिसाबसमेत सफा गर्नुपर्ने अवस्था छ ।” मासिकरुपमा रु २० हजार बढीको औषधिमै खर्च गर्नुपर्ने अवस्था रहेको उहाँले गुनासो गर्नुभयो ।

“भारतमा काम गर्थे घरको खर्च चल्थ्यो”, नरेन्द्रले भन्नुभयो, “श्रीमती रुखबाट लडेर थला परेपछि घर खर्चसँगै उपचार खर्च चलाउन निकै धौधौ भएको छ ।” हालसम्म उपचारमा रु २५ लाख बढी खर्च भएको र त्यसमध्ये रु १२ लाख कर्जा लिएर उपचार गरिएको उहाँले बताउनुभयो ।

भएको सबै रकम उपचारमा खर्च भइसकेपछि साउद परिवार औषधीका रकम जुटाउन सक्ने अवस्थामा छैन । “एकातर्फ छोराछोरीको पढाइ खर्च चलाउनुपर्ने अस्था छ”, नरेन्द्रले भन्नुभयो, “अर्कोतर्फ ओछ्यान परेकी श्रीमतीको उपचार खर्च जुटाउनुपर्ने आपद् आइलागेको छ ।”

कर्जा पाउने सबै ठाउबाट पैसा मागेर उपचारमा खर्च गरी सकेपछि कोही पनि अब कर्जा दिनसमेत तयार नभएको उहाँले दुःखेसो पोख्नुभयो । श्रीमतीको थप उपचारका लागि उहाँले दातृ निकायसँग आग्रह गर्नुभएको छ । वडाध्यक्ष चक्रबहादुर खड्काले ओछ्यान पर्नुभएकी मनोरीको उपचारका लागि व्यक्तिगतरुपमा रु १० हजार सहयोग गरेको बताउनुभयो ।

“साउद परिवारको अवस्था निकै दयनीय भएकाले ज्यान जोगाउनका लागि भएपनि उपचारमा सहयोग गर्नका लागि सङ्घ, संस्था, सरकारी निकाय, दाता र दातृ निकायसँग आग्रह गर्छु”, उहाँले भन्नुभयो ।

“स्पाइनल इन्जुरी भएकालाई सरकारले मासिकरुपमा रु पाँच हजार दिने व्यवस्था गरिएको छ”, नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भन्नुभयो, “यसका लागि आवश्यक कागजात पेश गरे पाउने रकमका लागि हाम्रा तर्फबाट हुने सहयोगका लागि तत्पर छौँ ।

औषधिका लागि यसबाट पैसाको व्यवस्था मिलाउन सकिन्छ ।” नगर उपप्रमुख कल्पना पन्तको पहलमा स्पाइनल इन्जुरी भएकी साउदलाई ‘एयर म्याट्रेस’ उपलब्ध गराइएको छ ।

ओछयानमा रहदा हुने घाउ(वेड स्वर) नहोस् भन्नका लागि सुदूरपश्चिम सरकार मातहत रहेको औषधि आपूर्ति शाखाबाट एयर म्याट्रेस ल्याएर पीडित महिलाको घरमै पुगेर उपलब्ध गराइएको नगर उपप्रमुख पन्तले बताउनुभयो ।

नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खबरहरु