पर्सा । वीरगञ्ज महानगरपालिका-८ स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका-५ ठेगाना भएका २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिका ठेगाना भएका २७ वर्षीय राजकपुर चौधरी रहेका छन् ।

उक्त बैंकको एटिएम मेसिन फुटाउँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

आधुनिक एम्बुलेन्स हस्तान्तरण
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आधुनिक स्वास्थ्य सामग्रीयन्त्र जडान भएको चार थान एम्बुलेन्स चार अस्पताललाई आज हस्तान्तरण गर्नुभयो । स्वास्थ्य मन्त्रालय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आज आयोजित कार्यक्रममा उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो । प्रदेश सरकारले स्वास्थ्य तथा विपद् आपत्कालीन अवस्थामा नागरिकको उपचारमा सहज पहुँचका लागि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत उक्त एम्बुलेन्स भन्सार छुटसहित प्रतिथान रु ५९ लाख ५० हजारमा खरिद गरेको हो ।

सरकारको स्वास्थ्य नीतिअनुसार १४ जिल्ला अस्पतालमा १४ थान एम्बुलेन्स र १४ थान शवबाहन उपलब्ध गराउने नीतिअनुसार पहिलो चरणमा उक्त एम्बुलेन्स प्रदान गरिएको हो ।

मुख्यमन्त्री राईले उक्त एम्बुलेन्सको चाबी इनरुवा जिल्ला अस्पताल सुनसरी, उदयपुर जिल्ला अस्पताल उदयपुर, मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर उर्लाबारी मोरङ र मेची अस्पताल झापाका मेडिकल सुपरिटेन्डेन्ट क्रमशः डा देवराज घिमिरे, डा मुकेश झा, डा रवि साह र डा टङ्कप्रसाद बराकोटीलाई हस्तान्तरण गर्नुभयो ।

मुख्यमन्त्री राईले सरकारले जनतालाई गुणस्तरीय एवं सर्वसुलभरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने दायित्वअनुसार एम्बुलेन्सको व्यवस्था गरेको बताउनुभयो । उहाँले जनतालाई आफ्नो घरठाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउन नयाँ स्वास्थ्य केन्द्र स्थापित गर्ने र भएका अस्पतालको स्तरोन्नति गर्न क्रियाशील रहेको धारणा राख्नुभयो ।

उहाँले अस्पताललाई आवश्यक पर्ने दक्ष जनशक्तिको कमी हुन नदिन करारमा नियुक्ति गर्ने प्रक्रियाको थालनी गरिएको जानकारी दिँदै दुर्गम तथा हिमाली क्षेत्रमा आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि दक्ष चिकित्सक व्यवस्था गर्ने बताउनुभयो ।

मुख्यमन्त्री राईले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने बताउँदै गर्भवती र सुत्केरीलाई निःशुल्क उपचारका लागि बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्यमन्त्री जयराम यादवले वर्तमान सरकार नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउन क्रियाशील रहेको बताउनुभयो । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साह, मन्त्रालयका सचिव अनोज भट्टचनले चाँडै दोस्रो चरणमा थप पाँच जिल्ला अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु