काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट प्रहरीले बिहीबार दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सिक्किमका ३० वर्षीय मेगवीर लिम्बू र उनका भाइ २३ वर्षीय बुद्धवीर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले दुवैजनालाई पक्राउ गरेको हो ।

प्रहरीले बुद्धवीरको साथबाट लागुऔषध तथा तीन थान मोबाइलसमेत बरामद गरेको छ । दुवैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एसिडपीडितलाई निःशुल्क उपचार
सरकारले एसिड आक्रमणमा परेका पीडितलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा एसिड आक्रमणमा परेकालाई निःशुल्क उपचार सेवा उपलब्ध हुने जानकारी दिनुभयो ।

पीडितले आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार लिनसक्ने व्यवस्थासमेत गरिएको छ । सरकारले एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधि २०७८ पारित गरेको छ ।

सम्बन्धित खबरहरु