काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अविलम्ब संसदीय चुनावको मिति घोषणा गर्न माग गर्नुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घीय संसद् र प्रदेशसभा सदस्य पदका लागि मङ्सिरमा निर्वाचन गर्न र निर्वाचनको मिति अविलम्ब घोषणा गर्न माग गर्नुभएको हो ।

अध्यक्ष लिङ्देनले एक प्रश्नको जवाफमा अध्यक्ष लिङ्देनले मुलुकको परराष्ट्र नीति सन्तुलनमा राख्न असंलग्न परराष्ट्र नीतिका आधारमा अघि बढ्न सुझाव दिनुभयो ।

वर्तमान गठनबन्धन सरकारले दलीय एवं व्यक्तिगत स्वार्थ त्यागी जनतालाई सर्वोपरि ठानेर महँगी नियन्त्रणलगायतका काम गर्न पनि सुझाव दिनुभयो ।

समृद्ध समाजका लागि सकारात्मक चिन्तन जरुरी’
समृद्ध समाजका लागि सकारात्मक चिन्तन आवश्यक पर्ने भएकाले त्यसका लागि समाजका अगुवाहरूले सही र प्रगतिशील विचार प्रवाह गर्नुपर्नेमा जोड दिइएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय बुटवलले आज आयोजना गरेको कार्यक्रमका वक्ताहरूले समाजमा हिंसा र अशान्ति बढिरहेकाले यसलाई नियन्त्रण गरी शान्त एवं समृद्ध समाजका लागि सकारात्मक विचार आवश्यक रहेको बताउनुभयो ।

सतविचारबाटै सतमार्गमा हिँड्न सकिने धारणा बताउँदै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले भन्नुभयो, “सयमा ९९ काम राम्रो गरे पनि एउटा काम नराम्रो भयो भने त्यही नराम्रो कामको चर्चा हुन्छ । सकेसम्म हाम्रो असल आचरण र व्यवहारका साथ काम गर्नुका साथै विचार फराकिलो बनाएर अघि बढ्नुपर्छ ।”

सो उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले सकारात्मक सोच लिएर अगाडि बढ्न सके शान्ति र समृद्धि छाउने विश्वास व्यक्त गर्नुभयो । “हामीले आफ्नो भूमिका निर्वाह गर्दा सकारात्मक सोच राखेर जनताका बीचमा जान सके नगर सुन्दर बन्छ । हामी आवेसमा आउँदा हामीलाई नै समस्या हुन्छ”, उहाँले भन्नुभयो ।

ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालयका क्षेत्रीय प्रमुख कमला दिदीले सबै जनप्रतिनिधिले सकारात्मक सोचका साथ काम गर्ने हो भने उपमहानगर नमूना बन्ने बताउनुभयो । “तपाईँहरू पाँच वर्षलाई चुनिएर आउनुभएको छ, चुनौती धेरै छ । जनताको आशा धेरै छन् । हामी आफ्नो पदमा रहँदा सकारात्मक विचार आवश्यक छ । कहिलेकाहीँ जनता रिसाएर आउँदा तपाईँहरू पहिले सुन्नुस् अनि मुस्कुराएर बोल्न सुरु गर्नुस्”, उहाँले भन्नुभयो ।

उहाँले क्रोध गर्न शक्ति नचाहिने तर सहन शक्ति चाहिने भएकाले कुनै पनि कुराको सामना हात र मुखले नभई धैर्यता र बुद्धिले गर्नुपर्ने बताउनुभयो । “निन्दा गर्नेको पनि इस्ट बन्नुपर्छ । विचारमा शान्ति, बोलीमा शान्ति भयो भने नागरिकको मनमा बस्न सकिन्छ”, उहाँले भन्नुभयो । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जनप्रतिनिधिलाई कामको बोझका कारण तनाव बढी हुने भएकाले यस्ता प्रशिक्षण आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा प्रशिक्षण दिँदै ब्रह्मकुमार राजुले कुनै पनि परिस्थितिलाई सहजरूपमा लिन सके तनाव नहुने बताउनुभयो । “खुसीजस्तो खुराक छैन, चिन्ताजस्तो रोग छैन”, उहाँले भन्नुभयो, “हाम्रो मनमा उत्पन्न नकारात्मक विचार नै दुःखको कारण हो । त्यसैले सधैँ सकारात्मक सोचौँ”, उहाँले भन्नुभयो ।

ब्रहमकुमारी राजयोगिनी सीमाले सकारात्मक चिन्तनले जीवन परिवर्तन हुने बताउनुभयो । अशान्त मनलाई शान्त बनाई आफ्नो जिम्मेवारी प्रभावकारी ढङ्गले निर्वाह गर्न सकारात्मक सोच राख्नुपर्ने उहाँको भनाइ छ । अग्रज पत्रकार डा बालकृष्ण चापागाईँले शान्ति स्थापना गर्नमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । ब्र्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका क्षेत्रीय प्रमुखसचिव नारायणले यो विश्वविद्यालय अन्तर्राष्ट्रिय आध्यात्मिक शैक्षिक संस्था भएकाले सकारात्मक विचारको प्रवाह गर्दै आएको उल्लेख गर्नुभयो ।

सम्बन्धित खबरहरु