security-council-300x258

काठमाडौं, १८ माघ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले संविधान निर्माणमा वार्ता र संवादलाई निरन्तरता दिँदै लचिलो भएर सम्झौतामा पुग्न नेपालका राजनीतिक दलहरुलाई सुझाव दिएको छ । सत्तापक्ष र विपक्षीले एकअर्कालाई निषेध गरिरहेका बेला सुरक्षा परिषद्मा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बुधबार राति ‘ब्रिफिङ’ गरिएपछि परिषद्का पाँच स्थायी सदस्य राष्ट्रले यो सुझाव दिएका हुन् । स्रोतका अनुसार निर्णय सार्वजनिक नगरिने सुरक्षा परिषद्को उक्त बैठकमा नेपाल मामिलामा सदस्य राष्ट्रहरुले विभिन्न विषयमा आ–आफ्ना तर्क राखेपछि अन्त्यमा सहमति शब्द हटाएर लचकतासहितको सम्झौतामा पुग्नुपर्ने निष्कर्षमा समझदारी भएको हो । विगतमा जसरी अहिले सुरक्षा परिषद्मा सहमति शब्द प्रयोग नगरिएको पनि स्रोतले बतायो । सुरक्षा परिषद्को निष्कर्षबारे स्रोतले भन्यो,‘वार्ता र संवादलाई निरन्तरता दिई सम्झौता र लचकताबाट राजनीतिक निकास खोजिनुपर्छ ।’ सुरक्षा परिषद्मा नेपालमा दिगो शान्ति,संविधान निर्माण , विकास निर्माणलगायत विषयमा छलफल भएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । परिषद्मा चीन,फ्रान्स,रुस,बेलायत र अमेरिका गरी पाँच स्थायी सदस्य छन् भने अंगोला, चाँद, चिली, जोर्डन, लिथुवानीय, मलेसिया, न्युजिल्यान्ड, नाइजेरिया, स्पेन र भेनेजुयला गरी १० अस्थायी राष्ट्र छन्

सम्बन्धित खबरहरु