काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बन्जी जम्प गर्ने रहर व्यक्त गर्नुभएको छ ।

शनिबार युवा संघले गरेको कार्यक्रममा उहाँले बन्जी जम्पमा जान मन भए पनि उमेरका कारण डाक्टरलाई सोध्नुपर्ने बताउनुभएको हो ।

‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ । तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला ? भनेर समस्या हुन सक्छ । डाक्टरलाई सोधेर जानुपर्छ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा ओलीले सर्वोच्च अदालत सत्तारुढ गठबन्धनको प्रभावमा नपर्न चेतावनी दिनुभयो । कामु प्रधानन्यायाधीशसँग सत्तारुढ दलका नेताहरुको खासखुस बढेको उहाँको टिप्पणी थियो ।

‘एक जना नेता कुदेर कामु प्रधानन्यायाधीशकोमा गएर दुई घण्टा बसे र त्यहाँबाट बाहिर निस्किए, ती नेता घरतिर लागिन् । श्रीमानजी अदालततिर लागे, के भयो त्यहाँ ?’ उहाँले प्रश्न गर्नुभयो ।

अदालतमा लेनदेन हुने गरेको भन्दै ओलीले यो घटनालाई आफूहरुले नजिकबाट हेरिरहेको टिप्पणी गर्नुभयो । ‘हामी विनम्रताका साथ आग्रह गर्न चाहन्छौं, सम्मानित सर्वोच्च अदालतबाट न्याय सम्पादन हुनुपर्छ कुनै खुसामद होइन, कुनै खासखुस, कुनै लेनदेन हुने होइन, जसको चर्चा चल्ने गरेको छ ।’

सर्वोच्चका न्यायाधीशहरुले नै अदालत भ्रष्ट भएको टिप्पणी गरेको भन्दै ओलीले त्यसबाट मुक्त हुन न्यायाधीशहरु नै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले सर्वोच्च अदालतमा सत्तारुढ गठबन्धनको प्रभाव पर्न नहुने स्पष्ट पार्नुभयो ।

‘यो गठबन्धन भनेको दुई दिनको पाहुना हो, ढोडका लौराको भर परेर नचल्न म आग्रह गर्छु’ उहाँले चेतावनीको शैलीमा भन्नुभयो, ‘यदि देशको पक्षमा लोकतन्त्रको पक्षमा न्यायको पक्षमा कदम चाल्नुप¥यो भने नेकपा एमालेले पनि कदम चाल्न सक्छ, कदम चाल्न तयार छ ।’

सम्बन्धित खबरहरु